हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८, मा रहेको हरिवन स्वास्थ्य चौकीमा शनिबार निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।
काठमाडौं दिर्घायू गुरु हस्पिटलका फिजिसियन तथा बाथ रोग विशेषज्ञ डाक्टर नरेन्द्रप्रसाद मैनालीबाट स्वास्थ्य परीक्षण र उपचार शिविर सम्पन्न गरिएको हो । शिविरमा ६७ जना महिला र ३१ जना पुरुष गरी ९८ जनाले निःशुल्क सेवा लिएका हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार बिरामीलाई आवश्यक औषधि पनि निःशुल्क प्रदान गरिएको छ । यसअघि शुक्रबार हरिवन स्वास्थ्य चौकीमै स्त्री रोग विशेषज्ञ डाक्टर रुविना ताम्राकार र फिजिसियन डाक्टर मनबोध कुमार साहको उपस्थितिमा शिविर राखिएको थियो ।
शुक्रबारको शिविरमा ५७ जना महिला र ३० जना पुरुष गरी ८७ जनाले सेवा लिएका स्वास्थ्य शाखाका प्रमुख चौधरीले बताए । चौधरीका अनुसार शिविरमा क्षयरोगका शंकास्पद बिरामीको बागमती सेवा समाजसँग समन्वय गरी खकार संकलन गरेर परीक्षणका लागि सासापुर जिन एक्स्पर्ट सेन्टरमा पठाइएको छ ।