शुक्रबार अपरान्ह डोम समुदायले लालबन्दीको बस्तीपुरमा गरेको चक्काजाम । उक्त चक्काजाम एकैछिनमा खुलेको थियो । (तस्बीर सौजन्य : संचारकर्मी सुरज अधिकारी)
लालबन्दी – लालबन्दी नगरपालिका–९, बस्तीपुरमा स्थानीय डोम समुदायले शव जलाउन दाउरा नदिएको भन्दै राजमार्गमा चक्काजाम गरेका छन् ।
एक जना मृतक व्यक्तिको शव जलाउन सामुदायिक वन उपभोक्ता समितिले दाउरा नदिएको भन्दै डोम समुदाय सडकमा निस्किएर शुक्रबार अपरान्ह आधा घण्टा चक्काजाम गरेका हुन् । प्रहरीले घटनास्थलमा पुगेर शव जलाउनका लागि दाउराको व्यवस्थापनका लागि समन्वय गरिदिने आश्वासन दिएपछि जाम खुलेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिबोल के.सी. ले सम्झाईबुझाई गरेपछि स्थानीय राजमार्गबाट हटेका बताए ।