logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवा : गणेश पूजाको मूर्ति विसर्जन, कफ्र्युबारे निर्णय गर्न सुरक्षा समितिको बैठक बस्दै


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरीको कडा सुरक्षाका बीच गणेश पूजाको मूर्ति शुक्रबार विर्सजन गरिएको छ ।

प्रहरीको बाक्लो उपस्थितिमा शिवसागर चोक नजिकको पोखरीमा सबै स्थानको मूर्ति एकैसाथ सेलाउने काम गरिएको हो ।

सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुका अनुसार शुक्रबार साँझ ७ बजेभित्र मूर्ति विसर्जनपश्चात मलङ्गवा बजार क्षेत्रको अवस्था सामान्य नै छ । उनले राति कुनै पनि किसिमका प्रदर्शन नभएका बताए ।

मूर्ति विर्सजन गर्न लैजानेक्रममा बिहीबार साँझ दुई समुदायबीच झडप भएपछि सदरमुकाम मलङ्गवामा कफ्र्यु आदेश जारी गर्नुपरेको छ ।

बिहीबार राति १० बजेदेखि लगाइएको कफ्र्यु शनिबार पनि जारी नै रहेको जिल्ला प्रशासन कार्यालयले जनायो । सुरक्षा अवस्थाबारे समिक्षापश्चात कफ्र्युका बारेमा निर्णय हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

निरन्तरको कफ्र्युका कारण मलङ्गवाको जनजीवन भने कष्टकर बन्दै गएको छ । हाटबजार बन्द छन् सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका सेवा ठप्प जस्तै रहेकाले अत्यावश्यक काम परेका सेवाग्राही मारमा परेका छन् ।

सदरमुकाम मलङ्गवामा झडप रोक्न बिहीबार साँझदेखि नै बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । जिल्लाभरका युनिटबाट थप मद्धत टोली मलङ्गवा उतारिएको छ । सुरक्षा स्रोतबाट प्राप्त जानकारी अनुसार ठूलो संख्यामा नेपाली सेना समेत तयारी हालतमा मलङ्गवामै लगेर राखिएको छ ।

शनिबर बसेको सर्वपक्षिय/सर्वदलिय बैठकले शान्ति भंग गर्ने कार्यमा संलग्न दोषीलाई पक्राउ गरी कानून बमोजिमको कारवाही गर्ने निर्णय गरेको थियो ।