logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवन ८ को वडा कार्यालय भवन उद्घाटन 


  • उज्यालो अभियान

सन्जु कर्ण, हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ को वडा कार्यालय भवन बुधबार बिहान उद्घाटन गरिएको छ ।

हरिवनस्थित पुरानो बजारमा निर्माण गरिएको वडा कार्यालय भवन संविधान दिवसको अवसरमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । पूर्व मन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का सङ्घीय सांसद हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको वडाध्यक्ष प्रज्वल ढुंगानाले बताए ।

यसअघि नारायण उप्रेती स्मृति प्रतिष्ठानको भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । करिव ३२ लाख रुपियाँ लागतमा भवन तयार पारिएको वडाध्यक्ष ढुंगानाले जानकारी दिए ।

वडाध्यक्ष ढुंगानाका अनुसार अब वडा कार्यालयमा सेवा लिन आउने प्रत्येक सेवाग्राहीले सरकारी दस्तुरको रकमबाहेक निवेदन लेख्ने, फोटोकपी गर्नेलगायत सेवा लिन पैसा बुझाउनुपर्ने छैन् । निवेदन लेख्न नसक्ने तथा फोटोकपी गर्ने पैसा अपुग हुने सेवाग्राहीलाई मध्यनजर गरी वडा कार्यालयकै कर्मचारीले ती सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष ढुंगानाले बताए ।

वडा कार्यालयको भवन उद्घाटनको अवसरमा सामाजिक कार्यमा थप प्रोत्साहन गर्ने उद्देश्यसहित वडाभित्रका विद्यालय व्यवस्थापन समिति, टोल सुधार समिति र सामुदायिक वन समूहका पदाधिकारीलाई कदर–पत्र प्रदान गरी सम्मान गरिएको छ ।

कार्यक्रममा पूर्व मन्त्री उप्रेती, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, नेपाली कांग्रेसका डोरप्रसाद भट्टराई, नेकपा एमालेका राजकुमार उप्रेती, चूडामणि वाग्लेलगायतले मन्तव्य राखे । सोही कार्यक्रममा वडा कार्यालय परिसरमा झण्डोत्तोलन, कराँतेका खेलाडीद्वारा काँटा प्रदर्शन र दिवङ्गत संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको तस्बिरमा माल्र्यापण गरिएको वडाध्यक्ष ढुंगानाले बताएका छन् ।