फाइल तस्बीर ।
लालबन्दी – तराईका जिल्लामा टन्टलापुर घाम लागेर उखरमाउलो गर्मी कायमै छ ।
असोज महिना सुरु भइसक्दा समेत गर्मी कम हुन सकेको छैन् । गर्मी नघट्दा जनजीवन प्रभावित बनेको छ ।
रातको समयमा पनि गुम्म गर्मी हुने गरेको स्थानीयले बताएका छन् । लालबन्दी नगरपालिका–७, की विणादेवी थापाले असोज लाग्न लाग्दा समेत रातदिन अचाक्ली गर्मी भएको पहिलो पटक महसुस गरिएको बताईन् ।
तराई क्षेत्रमा लगाइएको धान बालीलाई अहिले पानी चाहिएको छ । मौसम धाम्मधुम्म भए पनि पानी नपरी टरिरहँदा किसान निराश बनेका छन् । साँझपख आकाश मालकमिल समेत गर्छ, तर पानी पर्न सक्दैन् ।
मोटर चल्ने, कुलो तथा नहरको पानी लाग्ने क्षेत्रका किसानले पानी पटाइरहे पनि आकाशे वर्षाको भर पर्नुपर्ने क्षेत्रमा तत्काल पानी नपरे धान बाली प्रभावित हुने देखिन्छ । कतै धान पसाउन थालिसकेको छ भने कतै अब केही साताभित्रै पसाउने बेला हुन लागेको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जका किसान देवानन्द महतोले बताए ।
यो बेला किसानले एक/दुई झर पर्याप्त वर्षाको प्रतिक्षा गरेका छन् । यो वर्ष बर्खायामभर तराई क्षेत्रमा ठूलो पानी पर्न सकेन ।
तलसम्म बगेर जाने खोलामा माथितिरै पानी छैन् । चुरेभेगमै बाँध थुनेर कुलो तथा नहरमा पानी लाँदा समेत त्यहीँका किसानलाई अपुग रहेको ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरका किसान तिलकबहादुर खड्काले बताए ।
यही गर्मीमा धेरै मानिसमा ज्वरो, टाइफाइड, रुघा, खोकी, टाउको दुख्ने, शरीर कमजोर भएको महसुस हुने, डेङ्गुजस्ता स्वास्थ्य समस्या बढिरहेका छन् । चिकित्सक गुनेश्वर झाले यो समयमा पर्याप्त पानी पिउन, तातो घाम लागेको समयमा बाहिर ननिस्कन, झुल लगाएर सुत्न र ताजा खानेकुरा मात्रै खान सुझाव दिएका छन् ।