बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडी गर्जाहा पुलमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
शनिबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका धनकौल गाउँपालिका–४, महिनाथपुरका २८ वर्षीय अभिषेक यादवको उपचारका क्रममा आइतबार दिउँसो एलएस न्यूरो अस्पताल कलैयामा मृत्यु भएको हो । गर्जाहा पुलमा यादव सवार मधेश प्रदेश ०३–०२८ प ७४९६ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३० एक्स ८९८८ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए ।
छाती, टाउको र कम्मरमा चोट लागेर शख्त घाइते हुनुभएका यादवको आइतबार दिउँसो २ बजेपछि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले जानकारी दिए । मृतक यादव केही समयअघिसम्म सदरमुकाम मलंगवामा रहेको रेडियो मधेशमा कार्यरत थिए ।
उनी अहिले भने प्रेस सेन्टर सर्लाहीको सदस्य समेत रहेका थिए । प्रेस सेन्टर सर्लाहीका अध्यक्ष श्रवण थापाले शोक विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य छानविन गर्न स्थानीय प्रशासनसँग माग गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
डीएसपी लामिछानेका अनुसार दुर्घटनामा संलग्न अर्को मोटरसाइकल बीआर ३० एक्स ८९८८ नम्वरको मोटरसाइकलका चालक बरहथवा नगरपालिका–१७, बस्ने ३७ वर्षका रामजनक चौधरीलाई सामान्य उपचारपश्चात आइतबार दिउँसोबाट प्रहरीले हिरासतमा लिएको छ ।