logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

साप–नेपालद्वारा सामाजिक परीक्षण तथा समिक्षा कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी – मुसहर समुदायको उत्थानमा विगत दुई वर्षदेखि सर्लाहीमा कार्यरत साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) ले आइतबार लालबन्दीमा सामाजिक परीक्षण तथा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले न्यू लालबन्दी होटलमा “मुसहर महिला सशक्तिकरण कार्यक्रम” को सामाजिक लेखा परीक्षण तथा समिक्षा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष गीता भट्टराईको अध्यक्षता तथा हरिपुर नगरपालिकाका मेयर गोपाल पन्जियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको संस्थाका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिए ।

कार्यक्रममा बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवाल, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, बसबरिया गाउँपालिकाकी उपाध्यक्ष सरिता कुमारी, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, हरिपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापा, बसबरिया गाउँपालिका ३ का वडाध्यक्ष नन्दलाल महतो, बरहथवा नगरपालिका ८ का वडाध्यक्ष राजकिशोर महतो, चन्द्रनगर गाउँपालिका ३ का वडाध्यक्ष सीताराम महतो, राष्ट्रिय मुसहर संघका महासचिव रामस्वरुप सदा लगायतले मन्तव्य राख्दै साप–नेपालले मुसहर समुदायका महिलामा ल्याएको परिवर्तन सराहनीय रहेको भन्दै प्रशंसा गरे । घुम्टोभित्र रहेका महिला अहिले वडा तथा पालिकामा गएर बजेट माग्ने, आफ्नो तथा टोल बस्तीको सरसफाई गर्ने, बालबालिकालाई विद्यालय पठाउनेजस्ता सकारात्मक परिवर्तन देखिएको वक्ताहरुको भनाई छ ।

यस्तै, मुसहर समुदायका अगुवा सरिता माझी, संन्झावती माझी, रामपरि माझी, आशादेवी माझी, उर्मिला माझीलगायतले पनि कार्यक्रममा बोल्दै आफूहरुमा साप–नेपालले दुई वर्षसम्म परियोजना संचालन गर्दा धेरै परिवर्तन आएको र जीविकोपार्जनको सहरा समेत बनेको बताए । उनीहरुले साप–नेपालले झैँ अब स्थानीय तहले पनि समुदायमा सचेतना फैलाउने र मुसहर अनि मुसहर समुदायको विकासका लागि बजेट विनियोजन गरिदिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा हरिपुर नगरपालिकाकी उपमेयर निलमदेवी यादव, जिल्ला समन्वय समिति सर्लाहीका समन्वय अधिकारी होमनाथ सुवेदी, विभिन्न वडाका वडाध्यक्ष, मुसहर अगुवा, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, मुसहर महिलालगायतको उपस्थिति रहेको थियो । साप–नेपालले बरहथवा, हरिपुर, बसबरिया र चन्द्रनगरमा ३२ वटा समूहका १६ सय मुसहर महिलालाई आवद्ध गराएको थियो । ति महिलाले परियोजना सक्किनै लागेपनि नियमित बचत गर्ने, साप–नेपालले प्रदान गरेको चौपाय पालना गर्ने, तरकारी खेती गर्नेलगायत काम गर्दै आइरहेका छन् ।

सामाजिक परीक्षण कार्यक्रममा संस्थाले परियोजना संचालन गर्न सहयोग गर्ने चारवटै पालिकासहित सामुदायिक रेडियो एकता, मुसहर अगुवा तथा मुसहर महिला, संचारकर्मी र आफ्ना फिल्ड कर्मचारी लगायतलाई प्रशंसा–पत्र प्रदान गरी सम्मान गरेको छ ।

कार्यक्रममा साप–नेपालकी अध्यक्ष गीता भट्टराई र प्रादेशिक संयोजक जनक कार्कीले तत्कालका लागि परियोजना सक्किए पनि मुसहर समुदायको उत्थानका लागि अहिलेको जस्तै गरी निरन्तर लागिपर्न सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरेका छन् ।