परवानिपुर – सर्लाहीको परवानिपुरदेखि रानिगञ्जसम्म आउने जङ्गल क्षेत्रको सडक शनिबार सरसफाई गरिएको छ ।
नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनताको घरघरमा माओवादी’ तीन महिने अभियान अन्तर्गत लालबन्दी नगरपालिका–१६ परवानिपुरबाट वडा नं. १७ रानिगञ्जसम्म आउने सडक सरसफाई गरिएको हो । माओवादी केन्द्रका नेता, कार्यकर्तासहित सहभागी अन्यले सडकको दायाँबायाँ रहेको झ्याडी, बुट्यान फाँडेर सफा पारेका छन् । पार्टीको गतिविधि तथा पार्टी नेतृत्वकै रहेको सरकारले गरेका राम्रा कामबारे जनतालाई प्रष्ट पार्ने उद्देश्यले जारी राष्ट्रव्यापी अभियान अन्तर्गत स्थानीयलाई सहभागी गराई सडक दायाँबायाँको घारी सरसफाई गरी चिटिक्क पारिएको माओवादी केन्द्र परवानिपुरका नेताले बताएका छन् ।
सरसफाई कार्यक्रममा माओवादी केन्द्रको केन्द्रिय कमिटी सदस्य सीता दाहाल, लालबन्दी नगर कमिटीका अध्यक्ष लेखराम जर्गा मगर, वडाध्यक्ष गणेशबहादुर थापा, दलित वडा सदस्य कल्पना सार्कीसहित स्थानीय अगुवा, गाउँले, प्रहरीलगायत सहभागी भएको माओवादी केन्द्र लालबन्दी १६ का वडा संयोजक तथा निर्वाचित वडा सदस्य तिलक घलानले जानकारी दिए ।
उता, माओवादीको यो अभियान अन्तर्गत बागमती नगरपालिका १ मा पर्ने पूर्व–पश्चिम राजमार्गमा पनि शनिबार सरसफाई गरिएको छ । माओवादीका नेता तथा बागमती १ का वडाध्यक्ष गम्भीरसिंह पाख्रिनको नेृतृत्वमा डुमाजोर पुलदेखि हरिवन खोलासम्मको राजमार्ग क्षेत्रमा सरसफाई गरिएको हो ।