चिनी उद्योगमा लैजानका लागि उखु काट्दै किसान । (फाईल तस्बिर)
हरिवन – अर्थ मन्त्रालयले अनुदान रकम अझै जिल्लामा नपठाउँदा सर्लाहीका उखु किसान निराश बनेका छन् ।
किसानले गएको वर्ष नै चिनी उद्योगलाई बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गएको वर्ष क्रसिङ सिजन २०७९÷०८० मा उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ निर्धारण गरेको थियो ।
त्यसमध्ये चिनी उद्योगले ५४० रुपियाँ भुक्तानी गर्ने र बाँकी ७० रुपियाँ सरकारले अनुदानबापत उपलब्ध गराउने उल्लेख छ । तर, उखु बिक्री गरेको सात महिना भइसक्दा समेत उखु किसानलाई सरकारले अनुदान रकम नपठाएको हो ।
नयाँ रोपिएको उखु गोडमेल गरेर मलखाद गर्ने बेला भएको र चाडपर्व नजिकिँदै गरेको समयमा सरकारले अनुदान रकम नपठाउँदा किसान निराश बनेका छन् । हरिवन नगपालिका–७, का किसान हरिदेव महतोले बेलैमा अनुदान रकम नदिएर सरकारले उखु किसानमाथि अन्याय गरेको गुनासो गरे ।
उद्योगले बेलैमा रकम भुक्तानी नगर्दा सरकारसँग हारगुहार गर्दै आन्दोलनमा उत्रने आफूहरु सरकारले नै अनुदान रकम नदिँदा निरीहभइ बस्नु परेको उनले बताए । बागमती नगरपालिका–४, का किसान केदारनाथ प्रसाइँले उखु बेचेको सात महिनासम्म अनुदान रकम नपाउँदा घरव्यवहार चलाउन र उखु खेती हुर्काउन आर्थिक अभाव भएको दुःखेसो पोखे ।
गएको वर्ष सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवनले १० हजार ६७८ किसानको २८ लाख २० हजार ५७० दशमलव १५ क्विन्टल, महालक्ष्मी चिनी उद्योग बगदहले १७ हजार ३० किसानको १० लाख ९५ हजार ८९२ दशमवल ९८ क्विन्टल र अन्नपूर्ण चिनी उद्योग धनकौलले एक हजार ३७८ किसानको दुई लाख ६२ हजार ८६१ दशमलव ८६ क्विन्टल उखु क्रसिङ गरेका छन् ।
यि तीन उद्योगले क्रसिङ गरेको कूल ४१ लाख ७९ हजार ३२४ दशमलव ९९ क्विन्टल उखुको ७० रुपियाँका दरले २९ करोड २५ लाख ५२ हजार ७४९ रुपियाँ ०३ पैसा निकासा हुनुपर्छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका कोष नियन्त्रक पुरुषोत्तम बरालले अहिलेसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम प्राप्त नभएको बताए । उनले कार्यालयलाई रकम प्राप्त भएपछि करिव दुई साता आन्तरिक तयारी गरेपछि किसानको खातामै रकम पठाइने बताए ।
उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले पटक–पटक मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै आइरहेको बताए । गत वर्ष दशैँको मुखमा मात्रै उखुको अनुदान रकम निकासा भएको थियो ।