लालबन्दी – सर्लाहीको लालबन्दीमा करिव तीन सातापछि नियमित फोहोर उठ्न थालेको छ ।
फोहोर उठाउँदै आएका पुरानो ठेकेदारसँगको सम्झौता अवधि गएको साउन मसान्तमा गुज्रिएपछि बजार क्षेत्रमा फोहोर उठ्न सकेको थिएन । नगरपालिकाले नयाँ ठेकेदारसँग सम्झौता गरेसँगै बल्ल नियमित फोहोर उठ्न थालेको हो ।
नगरपालिकाभित्रको फोहोरमैला संकलन तथा व्यवस्थापन गर्न यसअघि ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रा.लि. हेटौंडा, मकवानपुरसँग सम्झौता भएको थियो । सो कम्पनिका ठेकेदारसँग सुरुमा पाँच वर्ष र त्यसपछि गरिएको थप एक वर्षको सम्झौताको म्याद सकिएपछि नयाँ सूचना जारी गरिएको थियो ।
सो सूचना बमोजिम गोकर्णेश्वर सरसफाई प्रा.लि. काठमाडौंंसँग आगामी दुई वर्षसम्म फोहोर संकलन र व्यवस्थापन गर्ने सम्झौता भई बिहीबारबाट भित्री बस्तीसम्म पनि ट्याक्टर पठाएर फोहोर उठाउन थालिएको हो । नगरपालिकाले बिहीबार एक सूचना जारी गरी यसअघि फोहोर उठाउने ठेकेदारलाई फोहोर लगेबापत कोही नगरवासीले अग्रिम रकम दिएको भए पैसा बुझाएको बीलसहित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
लालबन्दी नगरपालिकाले यसअघि ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रा.लि. हेटौंडा, मकवानपुरलाई फोहोर संकलन र व्यवस्थापनसहित केही वडाको नाला सरसफाईबापत मासिक एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने गथ्र्यो । अहिले गोकर्णेश्वर सरसफाई प्रा.लि. काठमाडौंंसँग भने उल्टै उसैले वार्षिक तीन लाख ५० हजार रुपैयाँ नगरपालिकालाई बुझाउनु पर्ने गरी सम्झौता भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।
फोहोरमैलामा संकलन भएका कवाडी सामग्री बिक्रीबाट आएको रकम र घरघरबाट उठाउने रकम ठेकेदारकै हुने छ । नयाँ सम्झौता अनुसार ठेकेदारले नाला भने सरसफाई गर्नुपर्ने छैन् ।