मलंगवा – सदरमुकाम मलंगवामा १०८ फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको छ ।
मधेश प्रदेश सरकारको सहयोगमा मलंगवा–सोनवर्षा नाका नजिक जिल्लामै पहिलो पटक १०८ फिट उचाई भएको राष्ट्रिय झण्डा फहराइएको हो । प्रदेश सरकारका अर्थमन्त्री सन्जय कुमार यादवको हातबाट मंगलबार दिउँसो झण्डोत्तोलन गरी सो झण्डाको उद्घाटन गरिएको मलंगवा नगरपालिकाले जनायो ।

मन्त्री यादवले भारतीय सीमा नजिक निर्माण गरिएको यो राष्ट्रिय झण्डाले राष्ट्रियतालाई थप मजबुद बनाउने विश्वास व्यक्त गरेका छन् । सीमा नाका भएर आउजाउ गर्ने जो कोहीलाई पनि ‘बोर्डर’ छेउमा राष्ट्रिय झण्डा फहराइरहेको देख्दा राष्ट्रप्रतिको माया र प्रेमभाव जागृत हुने उनको भनाई छ ।
राष्ट्रिय झण्डा निर्माण गरिएको स्थल छेउमै ‘वेलकम टू नेपाल’ लेखिएको डिजिटल बोर्ड, मलंबाबा मजारको दृश्य, नगरको बजार क्षेत्रको दृश्य, जानकी मन्दिरको तस्बिरलगायत पनि निर्माण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको ३० लाख रुपैयाँ बजेटबाट १०८ फिटको अग्लो झण्डासहित अन्य संरचना निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले उज्यालो अभियानलाई जानकारी दिए ।

गौतमका अनुसार झण्डा निर्माणस्थलका लागि मलंगवा नगरपालिका ४ निवासी खलिल हक अन्सारीले मलंगवा नगरपालिका ८ मा रहेको साँढे १३ धुर जग्गा उपलब्ध गराएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत गौतमको स्वागत तथा सूचना अधिकारी राजकुमार अधिकारीको संचालनमा आयोजित कार्यक्रममा मधेश प्रदेशसभाका सदस्य कौशलकिशोर राय, मेयर नागेन्द्र प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण राय, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष वीरेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष कमलेशप्रसाद साह, नगरपालिकाले नियुक्त गरेको संघसंस्था फोकल पर्सन मुकेश मिश्र, संचारमाध्यमका फोकल पर्सन विश्वनाथ ठाकुरलगायतले मन्तव्य राखे ।
कार्यक्रममा प्रदेश सरकारका अर्थमन्त्री यादवलाई मलंगवा नगरपालिकाले ४१ किलोको मालाले सम्मान समेत गरेको छ ।
