लालबन्दी – निजामती सेवा दिवस–२०८० को पूर्व सन्ध्यामा आज (सोमबार) सर्लाहीको लालबन्दी नगरपालिका–२, स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा फलफूल वितरण गरिएको छ ।
कर्मचारी मिलन केन्द्र सर्लाहीले आश्रममा आश्रय दिएर राखिएका वृद्धवृद्धालाई फलफूल वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुख र विभिन्न कार्यालयका प्रमुखलगायत आश्रममै पुगेर फलफूल वितरण गरिएको कर्मचारी मिलन केन्द्र सर्लाहीका संयोजक सञ्जय मानन्धरले जानकारी दिए ।
यसै दिवसको पूर्वसन्ध्यामा आज नै लालबन्दी नगरपालिका–७, मा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
लालबन्दी नगरपालिकाले विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरी लालबन्दी बजारस्थित राजमार्ग छेउमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् । ७२ जना पुरुष र १६ जना महिलाले रक्तदान गर्नुभएको लालबन्दी नगरपालिकाका कर्मचारी कोमलहरि गौतमले बताए ।
गौतमका अनुसार नेपाल रेडक्रस सोसाइटी शाखा धनुषाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र जनकपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । निजामती सेवा दिवसको अवसरमा भदौ २२ गतेसम्म विभिन्न कार्यक्रम गरिने कर्मचारी मिलन केन्द्र सर्लाहीले जनाएको छ ।