मलंगवा – अनियमित विद्युत् कटौतिविरुद्ध आज (आइतबार) सर्लाही सदरमुकाम मलङ्गवामा प्रदर्शन गरिएको छ ।
अत्यधिक गर्मीको समयमा अघोषित रुपमा विद्युत् कटौति हुँदा हैरान भएको भन्दै सदरमुकाम मलङ्गवाका युवाले नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्र अगाडि नाराबाजीसहित प्रदर्शन गरेका हुन् । गर्मीले छटपटी भइरहेका बेला जथाभावी घण्टौँसम्म बिजुली काटिँदा हैरान भएपछि प्राधिकरणको ध्यानाकर्षण गराउने उदेश्यले प्रदर्शन गरिएको हो ।
मलङ्गवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा विद्युत् प्रवाह गर्दा लापरवाही धेरै हुने गरेको युवाको गुनासो छ । पङ्खाको सहाराबिना बस्नै नसक्ने गरी उखरमाउलो गर्मी भइरहेको अवस्थामा छिनछिनमै बत्ती काटिँदा थप हैरानी खेप्नु परेको युवाले दुःखेसो पोखे ।
एक साताभित्र विद्युत् नियमित नभए थप आन्दोलनमा उत्रिने युवाले चेतावनी दिएका छन् । मलङ्गवा वितरण केन्द्रका प्रमुख उमेश प्रसाद यादवले विद्युत्का निकै पुराना संरचनाले बढ्दो ग्राहकको चाप अनुसार नियमित विद्युत् प्रवाह गर्न चूनौति रहेको बताएका छन् ।