logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कुरुप र दुर्गन्धित अवस्थामा रहेको धर्मशाला परिसरमा सरसफाई


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ८ मा अत्यन्त कुरुप र दुर्गन्धित अवस्थामा रहेको मोहर सिंह धर्मशाला परिसरमा शनिबार सरसफाई गरिएको छ ।

कर्मचारी मिलन केन्द्र, मलंगवा जेसीज, नागरिक समाज, मानव अधिकार सन्जाल, मलंगवा नगरपालिका, वडा कार्यालय, जिल्ला प्रशासन लगायत निकायको समन्वयमा सार्वजनिक प्रयोजनमा रहेको धर्मशाला परिसर सरसफाई गरिएको हो । करिव ५ कठ्ठा क्षेत्रफलमा फैलिएको धर्मशाला परिसरलाई सरसफाई गरी खुल्ला आकाशमुनी बिहानी व्यायाम गर्ने थलो बनाउने उद्देश्यले सरसफाई अभियानको थालनी गरिएको अभियानको नेतृत्वकर्ता एवं नापी कार्यालय मलंगवाका प्रमुख सन्जय मानन्धरले जानकारी दिए ।

सरसफाई कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, नापी कार्यालयका प्रमुख मानन्धर, सुरक्षाकर्मी, स्थानीय वासिन्दालगायतको उपस्थिति रहेको थियो । जिल्लाको उत्तरी भेगका लालबन्दी, हरिवन, बागमतीलगायत क्षेत्रको तुलनामा सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा सरसफाई तथा अन्य सामाजिक काम निकै न्यून हुने गरेका छन् ।

यस्ता कार्यक्रममा स्थानीय वासिन्दाको उपस्थिति कम हुने गरेको छ ।