logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दुई सय जना एकै ठाउँमा भेला भएर सामूहिक जनैधारण 


  • उज्यालो अभियान

घारिबथान – सर्लाहीको उत्तर–पूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा आज (बिहीबार) सामूहिक रुपमा जनैधारण गरिएको छ ।
जनैपूर्णिमाको अवसरमा आफ्नो परम्परा र सँस्कृतिको जर्गेना गर्ने उद्देश्यले बाँके खोला ड्याममा सामूहिक जनैधारण कार्यक्रम गरिएको हो । गाउँका करिव दुई सय जना बिहीबार बिहान सबेरै बाँके खोलामा भेला भइ गङ्गा स्नान गरी सामूहिक जनैधारण गरिएको स्थानीय राजकुमार न्यौपानेले जानकारी दिए ।
हिन्दु धर्मावलम्वीको महान पर्व जनैपूर्णिमाको अवसरमा नदी तथा खोलामा गएर गङ्गा स्नान गरी जनैधारण गर्ने परम्परालाई जोगाइ राख्न सामूहिक जनैधारण कार्यक्रम गरिएको गाउँलेले बताएका छन् । स्थानीय युवा मनोज घिमिरेले अगुवाई गरी आवश्यक सरसामग्री जुटाएर दुई सय बढी स्थानीयलाई सामूहिक जनैधारणको प्रवन्ध मिलाएका हुन् ।
सहभागीले पछिल्लो समय सँँस्कृति जोगाउने यस प्रकारको गतिविधि निकै न्यून हुने गरेको भन्दै यस्ता कार्यक्रम वर्षेनि आयोजना गरी सँस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
जिल्लाका अन्य स्थानमा पनि हिन्दु धर्मावलम्वीले नदी, खोला, मन्दिर, चौतारालगायतका स्थानमा पुगी पुरोहितबाट विधिपूर्वक मन्त्रोच्चारणद्वारा शुद्ध पारिएको रक्षाबन्धन (डोरो) र जनैधारण गरेका छन् । यस्तै, आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षावन्धन पर्व मनाएका छन् ।