logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शिक्षक महासंघ लालबन्दीको गुनासो : शिक्षकको मृत्यु हुँदा नगरपालिकाले मानविय संवेदना देखाएन


  • उज्यालो अभियान

लालबन्दी – नेपाल शिक्षक महासंघ लालबन्दी नगर समितिले शिक्षकको मृत्यु हुँदा समेत लालबन्दी नगरपालिकाले मानविय संवेदना समेत नदेखाएको गुनासो गरेको छ ।

नगरपालिकाको वडा नं. ८ खतिवडा चोकमा रहेको आधारभूत विद्यालयका शिक्षक राजकुमार विश्वकर्माको भदौ ८ गते असमायिक निधन भएको थियो । विश्वकर्माको निधनपछि नेपाल शिक्षक महासंघले नगरपालिकाबाट शिक्षकको मृत्युजस्तो मानविय संवेदना प्रस्तुत गरी एक दिन शैक्षिक संस्था बिदा हुने अपेक्षा गरेको थियो । तर, नगरपालिकाले यस विषयमा कुनै वास्ता नगरेको भन्दै शिक्षक महासंघले गुनासो व्यक्त गरेको छ ।

यस विषयमा ध्यानाकर्षण गराउँदै नेपाल शिक्षक महासंघ लालबन्दीले वुधबार मेयर बासुदेव अधिकारीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । यस्तै, महासंघले गएको वर्ष चैत २८ गते नारायण जनता माध्यमिक विद्यालय जियाजोरमा पदस्थापन भएका शिक्षक नरेशसिंह कुँवरलाई हाजिर भएदेखिको तलब भत्ता सम्वन्धित विद्यालयमा निकासा नगरी अन्यत्र विद्यालयमा निकासा भएकाले उनले पाउनुपर्ने एकमुष्ट रकम तत्कालै कार्यरत विद्यालयमा पठाउन माग गरेको छ ।

उता, केही दिनअघि बागमती नगरपालिकाले एक जना शिक्षकको निधनमा नगरभित्रका शैक्षिक संस्था एक दिन बन्द गर्ने निर्णग गरेको थियो ।