बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकाले बुधबार वडा नं. ६ स्थित नगर अस्पताल बयलवासमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
जानकी मेडिकल कलेज शिक्षण अस्पताल जनकपुरको सहयोगमा नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । सो शिविरबाट ६३९ जनाले विभिन्न रोगको उपचार गराएका नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोले जानकारी दिए । उनका अनुसार ४४५ जना महिला र १९४ जना पुरुषले स्वास्थ्य शिविरबाट लाभ लिएका छन् ।
आँखाका ६१, जेनरल फिजिसियनका १६१, सर्जरीका ६१, स्त्री तथा प्रसुतिका ६७, बालबालिकाका २८, हाडर्जोनीका १४७, छालाका ४२, दन्तका १०, नाक, कान, घाँटीका ४९ र यूएसजी सेवा १३ जनाले लिएका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले नगरभित्रका अतिविपन्न तथा गरिव परिवारका बिरामीले आफ्नै ठाउँमा निःशुल्क औषधि उपचार पाऊन भन्ने उद्देश्यले जनकपुरबाट विशेषज्ञ चिकित्सक ल्याएर शिविर सम्पन्न गरिएको बताए ।