प्रतिकात्मक तस्बिर ।
गोडैता – नेपाल भारत सीमानजिक पर्ने सर्लाहीको गोडैता नगरपालिका–३ भगवतीपुर बजारमा आइतबार साँझ एक युवक मृत फेला परेका छन् ।
विष्णु गाउँपालिका–५ का ४५ वर्षीय फेकन पण्डित भगवतीपुर बजारस्थित बरको रुखमुनि मृत फेला परेका हुन् । मृतक पण्डितले साइकलमा लत्ताकपडा राखेर गाउँघरमा बेच्ने काम गर्दै आएको खुलेको प्रहरीले जनायो ।
प्रहरीका अनुसार आइतबार घरबाट साइकलमा लत्ताकपडा लिएर हिँड्नुभएका पण्डित साँझ असहज भएपछि उनले नै परिवारलाई फोन गरेर जानकारी दिएका थिए । त्यसपछि उनी भगवतीपुरमा रहेको बजारमा बाँसको खाटमा पल्टिए ।
लगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो । घटनास्थल नजिकबाट उहाँ चढ्ने साइकल पनि बरामद भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि आइतबार राति प्रादेशिक अस्पताल मलंगवा ल्याएर राखिएको सर्लाहीका प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।