फाइल तस्बीर ।
लालबन्दी – राति सर्लाहीका अधिकांश स्थानमा ठूलो वर्षा, आज मौसम धाम्मधुम्म र सिमसिमे पानी
लालबन्दी सर्लाहीमा गएराति अधिकांश क्षेत्रमा वर्षा भएको छ ।
पूर्व–पश्चिम राजमार्ग क्षेत्र र उत्तरी चुरेभेगमा ठूलो पानी परेको स्थानीयले बताएका छन् । सर्लाहीमा केही दिनदेखि मौसम बदली भएर पानी परिरहेको छ ।
यो पानीले धान बालीलाई निकै फाइदा पुर्याउँदा किसान खुसी छन् । लगातार पानी परिरहँदा मानिस टाढाको यात्रा गर्न तथा खोला खोल्सीको बाटो भएर हिँड्डुल गर्न भने समस्या छ । बागमतीसहित यहाँको लखन्देही, फूलजोर, कालिन्जोर, बाँके लगायतका खोलामा केही दिनदेखि बाढी आइरहेको छ ।
खोलाको बगर भएर हिँड्डुल गर्नुपर्ने चुरेभेगका स्थानीयको दैनिकी सबैभन्दा कष्टकर बनेको छ । गएको जेठतिरबाटै यातायात चल्न बन्द भएको चुरेभेगमा खोला बाढी आएकाले पैदल हिँड्न पनि समस्या रहेको त्यहाँका स्थानीयले बताएका छन् ।
पानी परेकाले चुरेभेगका विद्यालयमा विद्यार्थी र शिक्षक पुग्न सकेका छैनन् । दक्षिणी भेगमा पनि बन्न बाँकी रहेको हुलाकी सडकसहित हरिपूर्वा, पर्सा, ब्रम्हपुरी, गोडैता, रामनगरलगायत पालिकाका भित्री कच्ची सडक हिलाम्मे र जलमग्न भएर हिँड्डुलमा समस्या छ ।