logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा आज पनि सिमसिमे झरी


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – सर्लाहीमा आज (शनिबार) पनि सिमसिमे झरी परिरहेको छ ।

केही दिनदेखि यहाँ स्यार्रसुर्र पानी परिरहेकै छ । निरन्तर हल्का वर्षा भइरहेकाले स्थानीय वासिन्दाले केही दिनदेखि चिसो महसुस गरिरहेका छन् ।

यो वर्ष चैत, बैशाखमा अत्यन्त तातो हावा र त्यसपछि पनि असाध्य गर्मी खेपेका यस क्षेत्रका वासिन्दाले पानी परेर चिसो हुँदा राहत महसुस गरेका हुन् । उत्तरी चुरेभेगको डाँडा कुहिरो लागेर ढाकेको छ । निरन्तर पानी पर्दा अधिकांश स्थानीय घरमै छन् ।

यहाँको बागमती, कालिन्जोर, फूलजोर, लखन्देही, बाँके लगायतका खोलामा बाढी आइरहेको छ । बाढी आएकाले नारायण खोला, शिर कालिन्जोर, पिपलदमारलगायत चुरेभेगका गाउँको बजार क्षेत्रसँग सम्वन्ध बिच्छेद भएको छ । बाढी आएकाले स्थानीय पैदल हिँडेर बजार आउन सकेका छैनन् ।

पानी परेपछि कच्ची सडक हिलाम्मे तथा जलमग्न भएकाले आवतजावतमा समस्या रहेको स्थानीयले गुनासो गरेका छन् । यो पानीले धान, मकै, लहरी, उखु, तिल, जुनेलोलगायतका बालीनालीलाई फाइदा पु¥याइरहेको भन्दै किसान खुसी छन् । तर, हरियो सागसब्जीमा भने पानी जमेर क्षति गरेको छ । हरियो तरकारी कम फलेर बजारमा थोरै मात्रामा आइरहेकाले मूल्य धेरै बढेको उपभोक्ताले गुनासो गरेका छन् ।

पानी परेकै बेला यहाँका किसान धान गोडमेल गर्ने, कोदो रोप्नेलगायत खेतबारीको काममा ब्यस्त रहेका छन् ।

यसैबीच, केही दिनदेखि परेको लगातारको झरी आजदेखि बिस्तारै कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तर पानी पर्ने क्रम अब बिस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै, नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ ।