पूर्व पश्चिम राजमार्गमा भएको जाम । (फाइल तस्बीर)
कर्मैया – बागमती पुलपारी रौतहटतर्फ तनाव भइरहँदा सर्लाहीको पूर्व–पश्चिम राजमार्गका ठाउँ–ठाउँमा अहिले बस, ट्रकलगायतका गाडी रोकेर राखिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–१, बागमतीस्थित पूर्व–पश्चिम राजमार्गको नुनथर मन्दिर जाने बाटोनजिक आज ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । घटनापछि मृतकका आफन्त र स्थानीयले ट्रकमा आगो लगाएका छन् । घटनास्थलमा अहिले तनाव देखिएको छ । ट्रकमा लागेको आगो निभाउन गएको चन्द्रपुर नगरपालिकाको वारुणयन्त्रमा पनि स्थानीयले ढुंगा प्रहार गरेर क्षति पु¥याएका छन् ।
रौतहटतर्फ चक्काजाम रहेकाले कर्मैया, नयाँरोड, नवलपुर, लालबन्दीलगायतका स्थानमा गाडी रोकेर राखिएको र जाम खुल्नासाथ रोकेर राखिएका सबै गाडीलाई गन्तव्यतर्फ पठाइने सर्लाही प्रहरीका डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए । उनले राजमार्गमा रहेका प्रहरी युनिटलाई आफ्नो युनिट अगाडि गाडी रोकेर राख्न भनिएको बताए ।
बसहरु समेत रोकिँदा दिउँसो ३ बजेपछिदेखि यात्रुहरु अलपत्र परेका छन् । पूर्व–पश्चिम राजमार्गबाहेक अन्य भित्री सडकमा भने सामान्य रुपमा गाडी चलिरहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पैदलयात्री चन्द्रपुर–१ बस्ने ५५ वर्षीया होममाया मगरलाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनायो ।
घटनापछि आक्रोशित स्थानीय बासिन्दाले ट्रकमा आगो लगाएका छन । अहिले त्यस क्षेत्रको अवस्था तनावपूर्ण छ । घटनास्थलमा इलाका प्रहरी कार्यालयका डीएसपी एकनारायण कोइरालाको नेतृत्वमा टोली पुगेको छ । ट्रकमा लागेको आगो निभाउन पुगेको ना १ झ ६८८ नम्बरको वारुण यन्त्रमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।
अहिले पूर्व–पश्चिम् राजमार्गमा यातायात अवरुद्ध भएको छ । डीएसपी कोइरालाले स्थानीयलाई सम्झाएर बाटो खुलाउने काम भइरहेको बताउनुभयो ।