logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जोखिमपूर्ण अवस्थामा जुटपानीको झोलुंगे पुल, मर्मतमा बेवास्ता


  • उज्यालो अभियान

जुटपानीस्थित झोलुङ्गे पुलको नुङ्गेर भत्किन लागेको भाग । (तस्बीर : उज्यालो अभियान)

नवलपुर – सर्लाहीको जुटपानीस्थित लखन्देही खोलामा निर्माण गरिएको झोलुङ्गे पुल जोखिमपूर्ण अवस्थामा पुग्दा समेत मर्मत नगरिएको स्थानीयले गुनासो गरेका छन् ।

लालबन्दी नगरपालिका–२, जुटपानी तथा हरिपुर नगरपालिका–२, सानोजगत र हरिवन नगरपालिका–५, घुर्कौलीलाई जोड्ने गरी निर्माण गरिएको लखन्देखी खोलाको झोलुङ्गे पुल मर्मत नहुँदा लामो समयदेखि जोखिमपूर्ण बनेको हो । पुलको पश्चिमतर्फ केही भाग नुंगेको लामो समय भइसक्दा समेत मर्मत नहुँदा दुर्घटनाको जोखिम रहेको हरिपुर नगरपालिका–२, सानो जगतपुरका सोमबहादुर श्रेष्ठले गुनासो गरेका छन् ।

श्रेष्ठका अनुसार पुलको बीचमा साइकल, मोटरसाइकल खस्ने गरी फलाम नै हराएको छ । त्यसठाउँमा स्थानीय आफैले काठ राखेका छन् ।

दैनिक सयौँ स्थानीय वासिन्दा र साइकल तथा मोटरसाइकल वारवार गर्ने पुल ‘धराप’ बनेकोबारे स्थानीय जनप्रतिनिधिलाई पटक–पटक ध्यानाकर्षण गराए पनि मर्मतमा बेवास्ता गरिएको श्रेष्ठले बताए । पुल दिनानुदिन जिर्ण बन्दै गइरहेको उनको भनाई छ ।

पुलका धेरैजसो नट झरिसकेका छन् भने दुवै भागको मुखमा पर्खाल भत्किँदा साइकल, स्कुटर र मोटरसाइकल चढेर आउने बारम्बार लड्ने गरेका छन् । हरिवन नगरपालिका–५, घुर्कौलीका वडाध्यक्ष नागेन्द्र कुमार साहले झोलुङ्गे पुल निर्माणपछि रेखदेख र मर्मत सम्भारमा बेवास्ता गरिँदा पुल जोखिमपूर्ण बनेको बताए ।

एकान्तठाउँमा रहेको यो पुलमा रहेका नट खोलेर फलामे सामग्री चोरी गर्दा पुल धराप बन्दै गइरहेको वडाध्यक्ष साहको भनाई छ । झोलुङ्गे पुल मर्मत गरिदिन भन्दै हरिवन नगरपालिकाले झोलुङ्गे पुल हेर्ने महोत्तरीको पूर्वाधार विकास कार्यालय बर्दिवासलाई पत्र नै काटेको छ ।

जानकीनगर र हजारबिघाका स्थानीय खोलामा बाढी आएको बेला नगरपालिकको केन्द्र हरिपुरसम्म पुग्नु पर्दा यही झोलुङ्गे पुल भएर वारपार गर्ने गर्छन्् । हरिपुर नगरपालिका–२, का वडाध्यक्ष निलबिक्रम थापा पनि पुल निर्माण गर्ने निकायले काम सम्पन्न भएपछि फर्किएर नहेर्दा पुलको अवस्था खराब भएको बताउँछन् ।

पूर्वाधार विकास कार्यालय बर्दिवासका प्रमुख विनोदकुमार ठाकुरले जुटपानीको उक्त झोलुङ्गे पुल जिर्ण भएकोबारे कार्यालयलाई पनि जानकारी रहेको तर मर्मतका लागि बजेट नरहेको स्वीकार गरे । स्वीस सरकारको सहयोगमा सञ्चालित ट्राईल ब्रिज सपोर्ट युनिट (टीबीएसयू) परियोजना अन्तर्गत यो पुल निर्माण गरिएको र पुलको मर्मतका लागि पुनः जनकपुरमा कार्यालय रहेको सो परियोजनालाई आग्रह गरिएको ठाकुरले बताए ।

पुलको सामान्य रेखदेह तथा मर्मतमा स्थानीय वासिन्दा र सम्वन्धित पालिकाले बेवास्ता गर्दा एकान्त ठाउँमा रहेको यो पुल जिर्ण बन्न पुगेको कार्यालय प्रमुख ठाकुरको भनाई छ ।