गर्मी छल्न नहरमा पौडी खेल्दै गरेका बालबालिका । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – विगत ५ दिनदेखि बढेको अत्यधिक गर्मीले सर्लाहीसहित यस आसपासका जिल्लाको जनजीवन नराम्ररी प्रभावित बनिरहेको छ ।
यस क्षेत्रका वाषिन्दाले हिजो र अस्ती यस वर्षकै धेरै गर्मी महसुस गरे । आज (शनिबार) पनि बिहानैदेखि मौसम धाम्मधुम्म हुने र चर्को घाम लाग्ने भइरहँदा हपक्क गर्मी छ ।
गएसाँझपख पानी पर्ला जस्तो भई जिल्लाभरकै मौसम धुम्म भए पनि पानी नपरी त्यसै टर्यो । आज बिहान जिल्लाको पत्थरकोट, परवानिपुर, घारिबथानलगायतका क्षेत्रमा एक झर पानी परेको छ ।
५ दिनदेखि लगातार मध्यान्हपख अत्यधिक तातो घामसहित भदौरे गर्मी हुँदा आम मानिस छटपटिएका छन् । बाहिर निस्कँदा जो कोही उखरमाउलो गर्मीले गर्दा असिनपसिन भइ अलसतलस हुने अवस्था रहेको स्थानीय बताउँछन् ।
लालबन्दी नगरपालिका–७, निवासी निरहरि घिमिरेले यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै गर्मी महसुस गरिएको बताए । यो वर्ष गएको वैशाख, जेठमा अत्यधिक तातो हावाको राप र अहिले साउन अन्तिम तथा भदौ पहिलो सातामा फेरि बाहिर निस्कने नसक्ने गरी अधिक गर्मी हुँदा दिनचर्या कटाउनै मुस्किल परेको घिमिरले गुनासो गरे ।
उखरमाउलो गर्मीका कारण खेतबारीको काम गर्नुपर्ने किसान र घाममा निस्किएर घर निर्माणमा खटिनुपर्ने, भारी बोक्नुपर्नेलगायत अन्य काम गर्ने मजदुर थप मारमा परेका छन् । मानिसको जनसङ्ख्या धेरै रहेको सदरमुकाम मलङ्गवा, बरहथवा, बयलवास, लालबन्दी, हरिवनसहितका बजारमा अझ बढी गर्मी हुने गरेको छ ।
यही गर्मीमा बेलाबेलामा झ्याप्पझ्याप्प बत्ती गइरहने समस्याले हैरान भएको ईश्वरपुर नगरपालिका–८, का अक्षय कुमार सिंह दनुवारले बताए । साँझपख प्रायः बत्ती कटौति हुन्छ । दनुवारले गर्मीका कारण पङ्खाको सहाराबिना बस्नै नसक्ने अवस्था रहेका बेला बत्ती गइरहने र बत्ती आउँदा पनि भोल्टेज नआउने समस्याले हैरान भएको बताए ।
गर्मी अत्यधिक बढेकाले स्वास्थ्यको विशेष ख्याल गर्न चिकित्सकले सल्लाह दिएका छन् । प्रादेशिक अस्पताल मलङ्गवाका डाक्टर अविनाश सिंहले अत्यधिक गर्मीका कारण बेहोस हुने लगायत गर्मीजन्य सङ्क्रमणको जोखिम उच्च रहेकाले यो समयमा प्रशस्त पानी पिउन, मध्यान्हपख घरबाहिर ननिस्कन, स्वस्थकर खानेकुरा मात्रै खान र सुत्नेबेला झुलको अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन् ।
यस्तै, यस क्षेत्रमा पानी पर्न रोकिएर चर्को घाम लाग्न थालेपछि किसान पनि चिन्तित बनेका छन् । आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा सिँचाईको समस्या हुन थालेको छ ।
कुलो तथा नहरको पानी नलाग्ने क्षेत्रमा पानी पर्न रोकिएपछि धान खेत चिराचिरा परेर फुट्न थालेको गुनासो किसानको छ । यो वर्ष खडेरीले गर्दा मकै उत्पादन घटेकाले धान बाली पनि खडेरीले प्रभावित हुने हो की भन्ने चिन्ता किसानमा छ ।