फूलजोर – सर्लाहीमा पूर्व–पश्चिम राजमार्गको पुलमा रेलिङ भत्किएको लामो समय भइसक्दा समेत मर्मतमा बेवास्ता गरिएको छ ।
लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकालाई जोड्ने फूलजोर खोलाको पुलमा रेलिङ भत्किएको डेढ वर्ष बितिसक्दा समेत मर्मत, सम्भारको काम हुन सकेको छैन् । २०७८ साल चैत १३ गते उक्त पुलबाट ना ४ ख ८५५५ नम्वरको बस पुलको रेलिङ नै भत्काएर खोलामा खस्दा चार जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।
उक्त दुर्घटनापछि पुलको रेलिङ मर्मत नहुँदा जोखिम रहेको स्थानीयले बताएका छन् । पुलको उत्तरतर्फ दुईवटा स्पानको पुरै रेलिङ भत्किएको छ ।
पुलमा रेलिङ नहुँदा पैदलयात्रु जोखिममा परेका छन् । मुख्य राजमार्गमै पुलको रेलिङ भत्किएको लामो समय भइसक्दा समेत मर्मतमा बेवास्ता गरिएको फूलजोर चोकका स्थानीय युवा विवेक तामाङले बताए ।
बस खस्दा भत्किएको पुलको रेलिङको केही भाग अहिले पनि पुलमै झुण्डिएर रहेको छ । ‘धराप’ अवस्थामा रहेको पुलको रेलिङ तत्काल मर्मत गर्न स्थानीयले माग गरेका छन् ।
सडक डिभिजन चन्द्रनिगापुरले फुलजोर खोला पुलको रेलिङ तत्काल मर्मत गर्ने तयारी भइरहेको जनाएको छ । राजमार्गको सर्लाहीखण्ड अर्थात् बागमती पुलदेखि बाँके पुलसम्मको खण्ड हेर्ने सुपरभाइजर पुण्यप्रसाद खतिवडाले केही दिनभित्रै पुलमा नयाँ रेलिङ हालिने बताए ।
सुपरभाइजर खतिवडाले अन्य स्थानको पुलमा रेलिङ हाल्ने काम भइसकेको र अब बाँकी रहेको फूलजोर खोलामा पनि केही दिनभित्रै रेलिङ हालिने दावी गरेका छन् । खतिवडाका अनुसार अहिले राजमार्गको विभिन्न स्थानमा खाल्डाखुल्डी पुर्ने काम चलिरहेको छ ।