logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीका यि ईप्रकामा नयाँ इन्स्पेक्टर आउँदै


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीमा सम्पूर्ण इलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालयले आज (मंगलबार) एकैसाथ ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गर्दा सर्लाहीमा सम्पूर्ण इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर परिवर्तन भएका हुन् । इलाका प्रहरी कार्यालय लालबन्दीमा भर्खरै काज सरुवा भई आएका इन्स्पेक्टर अच्युत गिरीको ट्राफिक प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंमा सरुवा भएको छ ।

हेडक्वार्टरले यो पटकदेखि काज सरुवा भई छोटो अवधि खटिएका अधिकांश प्रहरी अधिकृतलाई काज सरुवा भएको ठाउँमा नभई अन्यत्र दरबन्दी कायम गरी सरुवा गरेर पठाउँदा गिरीलाई छोटो समयमै लालबन्दीबाट काठमाडौं पठाइएको हो । लालबन्दीमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट इन्स्पेक्टर हरिबोल के.सी. आउने भएका छन् ।

यस्तै, इलाका प्रहरी कार्यालय हरिवनमा केही समयअघि काज सरुवा भई आएका इन्स्पेक्टर शिवराम थापाको ट्राफिक प्रहरी वृत्त कालिमाटीमा सरुवा भएको छ । इप्रका हरिवनमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट इन्स्पेक्टर अनिलराज गिरीलाई पठाइएको छ ।

यसैगरी, काज सरुवा भई इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासमा केही महिनाअघि आएका इन्स्पेक्टर लक्ष्मण के.सी. को उपत्यकाकै सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने इलाका प्रहरी कार्यालय कोन्ज्योसोम ललितपुरमा सरुवा भएको छ । के.सी.को ठाउँमा इप्रका केशरगन्जले इन्स्पेक्टर मान प्रसाद श्रेष्ठलाई पाएको छ । श्रेष्ठको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट केशरगन्ज सरुवा भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा इन्चार्जका रुपमा केही समयअघि देखि काजमा कार्यरत इन्स्पेक्टर लेखनाथ मैनालीलाई ट्राफिक प्रहरी वृत्त वौद्धमा सरुवा गरी ट्राफिकमा नयाँ इन्स्पेक्टरका रुपमा केन्द्रिय अनुसन्धान ब्यूरोबाट मदन थापालाई पठाइएको छ ।

जिल्लामा हालका इन्स्पेक्टरमध्ये सबैभन्दा पुरानो इलाका प्रहरी कार्यालय हरिपुरका विजय कुँवरको प्रहरी प्रधान कार्यालय काठमाडौंमा सरुवा भएको छ । कुँवरको ठाउँमा छिमेकी जिल्ला रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट इन्स्पेक्टर ठाकुरप्रसाद सापकोटालाई पठाइएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका सत्रुधन कुमार महतोलाई गण्डकी प्रदेशको प्रहरी तालिम केन्द पोखरामा पठाइ नेपाल प्रहरी गण मकवानपुरबाट इन्स्पेक्टर सुमन बाँनियालाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवामा काजमा खटिएर आई कार्यरत इन्स्पेक्टर संगिता पाण्डे र सविन कुमार कार्कीले भने यही दरबन्दी कायम भएको छ । जिल्ला प्रहरीकै इन्स्पेक्टर सुमित कुशवाहाको भने जिल्ला प्रहरी कार्यालय पाँचथर सरुवा भएको छ ।

दरबन्दी नरहेको इलाका प्रहरी कार्यालय गडहीयामा काजमा खटाइएको इन्स्पेक्टर दीपेन्द्रकुमार यादवको इलाका प्रहरी कार्यालय नेचा सोलुखुम्बुमा सरुवा भएको छ ।

इलाका प्रहरी कार्यालय चक्रघट्टाका इन्चार्ज इन्स्पेक्टर सुरेश ठाकुरको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा सरुवा भएको छ भने चक्रघट्टामा इलाका प्रहरी कार्यालय कन्चनपुर सप्तरीबाट इन्स्पेक्टर रमेशकुमार तिमल्सिनालाई पठाइएको छ ।

सरुवा भई यहाँबाट जानुपर्ने पुराना र अन्यत्रबाट यहाँ आउनुपर्ने नयाँ इन्स्पेक्टर एक÷दुई दिनभित्रै जाने–आउने भइसक्ने जिल्ला प्रहरी कार्यालय मलंगवाले उज्यालो अभियानलाई जनायो ।