logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गोलुको शव परिवारले बुझेर लगे


  • उज्यालो अभियान

खोलामा टाउको र जंगलमा शरीर भेटिएका गोलुको पुरानो तस्बीर ।

मलंगवा – सर्लाहीको लखन्देखी खोलामा टाउको र रानिगञ्ज जङ्गलमा शरीर फेला परेको युवकको शव आज (मंगलबार) परिवारलाई बुझाइएको छ ।

निकै बिभत्स ढङ्गले हत्या गरी बेग्लाबेग्लै स्थानमा फालिएको टाउको र शरीर शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा पोष्टमार्टमपश्चात आज बिहान सबेरै परिवारलाई बुझाइएको हो । भारतको सितामढी जिल्ला मनियारी बस्ने २३ वर्षका गोलु भन्ने अभिषेक राजको गएको बिहीबार हरिवन नगरपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने लखन्देही पुलमुनि टाउको र शनिबार लालबन्दी नगरपालिका–१७, रानिगञ्जस्थित राजमार्ग नजिकको जङ्गलमा शरीर फेला परेको थियो ।

टाउको केही दिनअघि नै पोष्टमार्टम गरी जिल्ला ल्याइएकोमा गएराति शरीर पनि यहाँ ल्याएर आज बिहान परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डीएसपी कैलाश राईले उज्यालो अभियानलाई जानकारी दिए । उनका अनुसार मृतक युवकका बुवा र भाई आएर शव सितामढीस्थित घरतर्फ लगेका हुन् ।

प्रहरीले भारतीय युवकको विभत्स हत्या भएको यस घटनाको निकै सुक्ष्म ढङ्गले अनुसन्धान अघि बढाएको छ । परिवारका अनुसार गोलु अन्य चार जना साथीसँग घुम्नभनि साउन २० गते सितामढीबाट सर्लाहीतर्फ आएका थिए । गोलुसँगै घुम्नभनि निस्किएका साथी अहिले सम्पर्कविहीन छन् ।

उनीहरु घरमा नेभिटिएका र लुकेर बस्न सक्ने ठाउँहरुमा भारतीय प्रहरीसँग समन्वय गरी खोजी जारी राखिएको डीएसपी राईले बताए । फरार रहेकाको पहिचान भइसकेकाले चाँडै पक्राउ पर्ने जिल्लास्थित प्रहरीका सुरक्षा अधिकारीले बताएका छन् ।