मलंगवा – अनुचित लेनदेन (मिटरब्याज) समन्वय बैठक सर्लाहीले ३ पटकसम्म छलफलमा बोलाउँदा छलफलमै नआउने पीडकलाई जाहेरी लिएर कारवाही चलाउने निर्णय गरेको छ ।
सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा निमित्त प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षता तथा अनुचित लेनदेन (मिटरब्याज) सम्वन्धी जाँचबुझ आयोग २०७९ का अध्यक्ष गौरीबहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार दिउँसो बसेको बैठकले छलफलका लागि ३ पटकसम्म फोनबाट अनुरोध गर्दा पनि छलफलमा नआउने पीडकलाई उनीहरुविरुद्ध परेको निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाएर कारवाही अघि बढाउने निर्णय गरेको हो । पटक–पटक (तीन पटकसम्म) फोनबाट बोलाउँदा छलफलमा नआउने पीडितको सवालमा समेत निवेदन फछ्यौट गरी लगत कट्टा गर्ने निर्णय भएको छ । आयोगबाट छिटफुट निवेदन लिन निर्देशन आएबमोजिम जिल्ला प्रशासन कार्यालय मलंगवाले अहिले फेरि पीडितबाट निवेदन लिइरहेको छ ।
यसअघि १ हजार ९२० निवेदन परेकोमा केही दिनभित्रै फेरि ३० भन्दा बढी निवेदन परिसकेका छन् । कार्यालयले हालसम्म ४९९ निवेदनको फछ्यौट अर्थात् पीडक र पीडितबीच मिलापत्र भइसकेको जनाएको छ ।
आइतबारको छलफलमा अनुचित लेनदेन (मिटरब्याज) सम्वन्धी जाँचबुझ आयोगका सदस्य उत्तमराज सुवेदी, अर्का सदस्य गणेशबाबु अर्याल, जिल्ला न्यायाधिवक्ता कैलाश दाहाल, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, अन्य सरोकारवाला, कर्मचारी, मिटरब्याज पीडित संघर्ष समितिका पदाधिकारीलगायत सहभागी भएका थिए ।