हरिवन – ‘युवाका लागि हरित सीप ः विश्व दिगो विकास तर्फ’ भन्ने नाराका साथ सर्लाहीमा पनि शनिबार अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ ।
दिवसका अवसरमा बिहान सदरमुकाम मलंगवामा प्रभादफेरि निकालियो । मलंगवा नगरपालिकाको आयोजनामा प्रभातफेरि निकालेर अन्तक्र्रिया गरिएको हो ।
कार्यक्रममा मेयर नागेन्द्र प्रसाद यादव, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायत सरिक भएका नगरपालिकाका सूचना अधिकारी राजकुमार अधिकारीले जानकारी दिए ।
दिवसकै अवसरमा बरहथवामा रक्तदान कार्यक्रम गरिएको छ । वर्क प्लान नेपालले विभिन्न संघसंस्थासँग समन्वय गरी राखेको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष सुनिल यादवले बताए । उनका अनुसार बरहथवाका विभिन्न वडामा एक हजार २०० विरुवा समेत रोपिएको छ ।
यस दिवसका अवसरमा नेपाल मानव धर्म सेवा समितिले हरिवन बजार क्षेत्रमा सरसफाई गरेको समितिका अध्यक्ष अच्यूत मैनालीले जानकारी दिए ।
अन्तराष्ट्रिय युवा दिवसकै अवसरमा हिजो जिल्लाका अन्य स्थानमा विभिन्न कार्यक्रम भएका हाम्रा संवाददाताहरुले जनाएका छन् ।