पानी परेपछि ईश्वरपुर नगरपालिका १२ स्थित घारिबथान चुरेक्षेत्रको दृश्य । (तस्बीर : उज्यालो अभियान)
घारिबथान – सर्लाहीमा आज मध्यान्हदेखि निरन्तर वर्षा भइरहेको छ ।
दिउँसो केहीबेर जिल्लाका अधिकांश स्थानमा ठूलो पानी परेको स्थानीयले बताएका छन् । भारी वर्षा रोकिएर अहिले भने सिमसिम पानी परिरहेको हो ।
पर्याप्त वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । जिल्लामा अब कतैकतै मात्र रोपाइँ बाँकी छ । नत्र भने सबैक्षेत्रका किसानले लगातार पानी परेपछि रोपाइँ सकेका छन् ।
यो पानीले रोपिसकेको धानलाई समेत निकै फाइदा पुगेको किसानले बताएका छन् । एक झर ठूलो पानी पर्दा यहाँका होँचो भू–भाग तथा पानीको निकास नभएका ठाउँ भने जलमग्न बनेका छन् ।
नदी तटिय क्षेत्रका स्थानीय कटान तथा डुबानको त्रासमा परेका छन् । यहाँको बागमती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँकेलगायतका खोलामा ठूलो बाढी आइरहेको छ ।
मौसमविद्ले आजदेखि पर्सी मंगलबारसम्म देशभर वर्षा हुने पूर्वानुमान गरेका छन् ।