कौडेना – सर्लाहीको कौडेना गाउँपालिका–७, सक्रौल शिवनगरमा धमाधम बाँध कस्ने काम भइरहेको छ ।
सोमबार रातभरको भारी वर्षापछि लखन्देखी खोलामा आएको बाढी बाँध भत्काएर खेत तथा गाउँतर्फ पसेको छ । त्यहाँ हिजोबाट नेपाली सेना खटाएर बाँध कस्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सेनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सहयोग गरिरहेका छन् ।
तत्काल बाँध नकसिए बस्ती जोखिममा पर्ने खतरा भएपछि सुरक्षाकर्मी परिचालन गरी अस्थायी रुपमा बाँस गाडेर बाँध कस्न लागिएको हो । गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु) ले बाँध कस्नका लागि आवश्यक सरसामग्री जोरजाम गरिरहेको बताए ।
बाढी पस्दा शिवनगरमा सयौँ बिगाहमा लगाइएको धान खेतमा क्षति पुर्याएको स्थानीय किसानले गुनासो गरेका छन् । शिवनगरमा बाँध कटान भएको क्षेत्रमा हिजो प्रदेशसभा सदस्य कौशलकिशोर राय संचारकर्मी समेतलाई लिएर निरीक्षणमा पुगेका थिए ।
यसैबीच, कौडेना गाउँपालिका–७, शिवनगरमा अविरल वर्षापछि एक किसानको गोठ घर भत्किएको छ । स्थानीय सेख खलिलको गोठ पूर्णरुपमा लड्दा ७० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।