लालबन्दी – सर्लाहीमा आजबाट पानी पर्न रोकिएर घाम लाग्न थालेको छ ।
यहाँ आज बिहानैदेखि मौसम उघ्रिएर सामान्य रुपमा हावा चलिरहेको छ । यो वर्ष साउनको अन्तिमतिर आएर भारी वर्षा भएको छ ।
सर्लाहीमा सोमबार रातिदेखि हिजो दिउँसोसम्म वर्षा भयो । बिताएर परेको यो पानीमा पनि किसानले छिप्पिसकेको धानको ब्याड भएपनि बाँझो खेतमा धमाधम रोपाइँ गरिरहेका छन् । ठूलो आकाशे वर्षा भएपछि अहिले पानी वाल–छ्याल भएको कविलासी नगरपालिका ७ सिर्सियाका किसान गणेश रायले बताए ।
आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रका किसानलाई यो पानीले निकै फाइदा पुर्याएको छ । ईश्वरपुर नगरपालिका १२ घारिबथानका किसान उद्धवप्रसाद तिमल्सिनाले अहिले परिरहेको पानीले किसानलाई ठूलो राहत पुर्याएको भन्दै खुसी व्यक्त गरे । उनका अनुसार बाँकी रहेको खेतमा धमाधम रोपाइँ जारी छ भने रोपिसकेर खडेरीले सुक्न थालेको रोपोलाई पनि फाइदा गरेको छ ।
अहिले पानी परेपछि एकैसाथ रोपाइँ हुँदा खेतमा आली लगाउने, बीउ उखेल्ने र धान रोप्ने कामदार पाउन भने मुस्किल छ । ट्याक्टरले रातभर पनि जोत्ने गरिन्छ । किसानले हलगोरु पाल्न छाडिसकेका छन् । उत्तरी भेगका हरिवन, लालबन्दी, ईश्वरपुर नगरपालिका तथा पूर्वी क्षेत्रका ब्रम्हपुरी, पर्सा र चन्द्रनगर गाउँपालिका तथा हरिपूर्वा नगरपालिकामा अहिले तीव्र रुपमा रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।
हरको पानी लाग्ने दक्षिणी र पश्चिमी भेगमा लगभग रोपाइँ सकिएको छ । कार्यालयका प्रमुख देवानन्द रायले पानी लाग्ने ठाउँमा ९० प्रतिसत भन्दा बढी र आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा ५० प्रतिसतको हाराहारीमा रोपाइँ भएको बताए । उनअब ठूलो पानी परेकाले लगभग सबैतिर दुई–चार दिनमै रोपाइँ सकिने बताए ।
डुबान हुने कतिपय ठाउँमा भने लगातार पानी पर्दा भर्खरै रोपेको धानमा असर गर्न थालेको छ ।