logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

महिनाथपुरमा बागमतीको बाढीमा फसेका ३५ जना बढीको सकुशल उद्धार


  • उज्यालो अभियान

महिनाथपुर – सर्लाहीको धनकौल गाउँपालिका–४, महिनाथपुरमा बागमती नदीको बाढीमा फसेका ३५ जना भन्दा बढी गोठाला, घाँस काट्न गएका महिला र किसानलाई सकुशल उद्धार गरिएको छ ।

मंगलबार दिउँसो बागमती नदी किनारमा बाख्रा चराउन गएका तथा घाँस काट्न गएकाहरु एक्कासी बाढी आएपछि बिचमा फसेका थिए । १०÷१५ जना पौडी खेलेर घर फर्किएका छन् । बाँकी ३५ जना भन्दा बढीलाई रौतहटतर्फको प्रहरीले सकुशल उद्धार गरेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

“हामीले सर्लाहीतर्फबाटै उद्धार गर्न खोज्यौँ तर यताबाट असम्भव देखिएपछि रौतहट प्रहरीको सहारा लिएर ३५÷४० जनाको सकुशल उद्धार ग¥यौँ,” एसपी सुवेदीले भने, “उद्धार गरिएर रौतहटतर्फै लगिएकालाई घरसम्म आउनका लागि यताबाट गाडी पठाइसकेका छौँ ।”

मंगलबार साँझ उद्धार गरिएका सबैलाई पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर निकालेर नयाँरोड–मधुवनी सडक हुँदै घरतर्फ ल्याइने प्रहरी उपरीक्षक सुवेदीले बताए । ठूलो सङ्ख्यामा किसान तथा गोठाला बाढीमा फसेको सूचना पाएपछि जिल्लास्थित सुरक्षा प्रमुख सहितको सुरक्षाकर्मीको टोली महिनाथपुर पुगेको थियो ।

प्रहरीका अनुसार एकादशी खोलाको बाँध समेत फुटेर बाढी आउँदा बागमती नदी किनारमा गोठाला तथा घाँस काट्न गएकाहरु बाढीमा फसेका थिए । सर्लाही र रौतहटको सीमा भएर बस्ने बागमती नदी वारिपारी दुवै जिल्लाका किसान खेतिपाती तथा घाँस काट्न र वस्तुभाउ चराउन आउजाउ गर्ने गरेका छन् ।