फाइल तस्बीर ।
लालबन्दी – सर्लाहीमा सोमबार साँझदेखि लगातार पानी परिरहेको छ ।
यस वर्ष वर्षायामभर पानी नै पर्न नसकेर खडेरी गइरहेको अवस्थामा सोमबार बेलुकादेखि भने एकनासले झरी परिरहेको हो । मंगलबार बिहानसम्म पनि निरन्तर पानी परिरहेको छ ।
लामो प्रतिक्षापछि पर्याप्त वर्षा भइदिँदा किसान खुसी भएका छन् । अब यहाँ बाँझो रहेको खेत रोपाइँ हुने भएको छ । रोपिसकेको रोपोलाई पनि अहिलेको पानीले राम्रो फाइदा पुर्याएको भन्दै किसान हर्षित भएका छन् ।
सर्लाहीमा साउन लागेदेखि पटक–पटक पानी पर्लाजस्तो भएपनि, पानी पर्न नसकी त्यसै टरेको थियो । अहिले भने खेतका गरा टिलपिल हुने गरी पानी परेको छ । जताततै भलबाढी बगेको देखिन्छ ।
पानीको निकास रोकेर सडक तथा अन्य संरचना निर्माण गरिएको ठाउँहरु र केही होँचा बस्ती निरन्तर पानी पर्दा जलमग्न बनेका छन् । लगातार पानी परिरहँदा यहाँको बाँके, फूलजोर, कालिन्जोर, लखन्देखी, चापिनी, राई खोला, बागमतीलगायतका खोलामा रातिदेखि नै बाढी आइरहेको छ ।
सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बिहान ८ बजेसम्म जिल्लाभर कहिँकतैबाट डुबान तथा कटानबारे जानकारी नआएको उज्यालो अभियानसँग बताए ।