मलंगवा – सर्लाहीमा २८ हजार जनाको राष्ट्रिय परिचय पत्र कार्ड छापिएर आएको छ ।
सीडीओ कार्यालय मलंगवामै गएर बायोमेट्रिक दर्ता गराएका २८ हजार जनाको राष्ट्रिय परिचय पत्र कार्ड छपाई गरी राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागले यहाँ पठाएको हो । जिल्ला प्रशासनले पालिकाहरुमा टोली परिचालन गरी विवरण लिएकाहरुको भने हालसम्म राष्ट्रिय परिचत्र पत्र प्राप्त भएको छैन् ।
जिल्लामा प्राप्त राष्ट्रिय परिचय पत्र ‘एक्टिभ’ गर्ने र अन्य आन्तरिक तयारी पूरा गरी सकेसम्म आगामी आइतवारबाटै सेवाग्राहीलाई वितरण गर्न सुरु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
जिल्ला प्रशासन कार्यालयले केही समयअघि पालिकाका वडा तथा विद्यालय लगायतका स्थानमा टोली राखेर जिल्लाका २० वटै स्थानीय तहमा ३ लाख १९ हजार २७२ जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण लिने काम गरेको थियो । उनीहरुको परिचय पत्र छापिएर आउन बाँकी नै छ ।
राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालय मलंगवा र इलाका प्रशासन कार्यालय हरिवन तथा बरहथवाबाट अहिले पनि नियमित विवरण लिने काम भइनै रहेको छ ।