logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा केही दिनदेखि बिजुली अनियमित, स्थानीय हैरान


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

लालबन्दी – केही दिनदेखि विद्युत् अनियमित हुँदा सर्लाहीवासी हैरान भएका छन् ।

प्राय: साँझको समयमा विद्युत् कटौति हुने गरेको गुनासो बढेको छ । गर्मीले छटपटिएको बेला अनियमित विद्युत् कटौतिले थप मार खेप्नु परेको हरिपूर्वा नगरपालिका–४, डुमरियाका स्थानीय रामप्रकाश रायले गुनासो गरेका छन् ।

मलङ्गवा वितरण केन्द्र अन्तर्गत पर्ने आफूहरुको क्षेत्रमा अन्य भेगको तुलनामा बढी विद्युत् कटौति हुने गरेको रायले बताए । “गर्मीले असिनपसिन भएर बसेको बेला बारम्बार बत्ती काटिन्छ, त्यतिबेला पंखा चलाउन नपाएर गर्मीले थप छटपटिनु पर्छ,” रायले भने, “ग्रामीण भेग भएर पनि होला, हाम्रो ठाउँतिर त तुलनात्मक रुपमा बढी नै बिजुली कटौति हुन्छ ।”

साँझ बत्ती बाल्ने तथा खाना खाने समयमा बढी विद्युत् कटौति हुने समस्याले जिल्लावासी आक्रोशित बनेका छन् । जिल्लाको ग्रामीण भेगमा एक पटक बत्ती कटेपछि लामो समयसम्म नआउने समस्या रहेको स्थानीयको गुनासो छ ।

चुरेभेग आसपास र दक्षिणी भेगका बस्तीमा यो समस्या बढी देखिन्छ । ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरका वडाध्यक्ष देविबहादुर खत्रीले अनियमित विद्युत् कटौतिले विद्युत्बाट हुने काम प्रभावित बनिरहेको बताए ।

कालिन्जोर क्षेत्रमा गएरातिदेखि अवरुद्ध विद्युत् सोमबार दिउँसोबाट बल्ल सूचारु भएको छ । “बत्ति नहुँदा कहिलेकाँही रातभर अन्धकारमा बस्नुपर्छ, मोवाइल चार्ज हुन नपाएर अधिकांश स्थानीय सञ्चारसम्पर्कबाट बञ्चित हुन्छन्,” वडाध्यक्ष खत्रीले उज्यालो अभियानसँग भने ।

लामो समयसम्म बत्ती नआउँदा ग्रामीण क्षेत्रका वडा कार्यालय, सहकारी, विभिन्न सङ्घसंस्था र विद्यालयको सेवा प्रभावित हुने गरेका छन् । सर्लाहीका कतिपय गाउँमा बत्ती जानासाथ मोवाइलको नेटवर्कले समेत काम गर्न छाड्ने समस्या छ ।

गोडैता नगरपालिका–१२, मधुवनीका शङ्कर कुशवाहाले नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रको बेवास्ता र लापरवाहीका कारण सीमावर्ती क्षेत्रमा पर्ने आफूहरुको ठाउँमा १०÷१२ घण्टा विद्युत् कटौति हुनु सामान्य जस्तै भएको सुनाए । उनका अनुसार केही दिनदेखि मलङ्गवादेखि पश्चिम कौडेना, गोडैता, बलरा, रामनगरलगायत क्षेत्रमा दिउँसोपख बत्ती नै नआउने समस्या छ । त्यसभेगमा सोमबार पनि दिनभर बत्ती आएन ।

गोडैतामा रहेको रेडियो बन्धनका संचालक निरज यादवले अनियमित विद्युत् कटौतिले रेडियो संचालन गर्नै समस्या पर्न थालेको गुनासो गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले भने वर्षायाममा प्रायः वर्षेनि विद्युत् अनियमित हुने गरेको जनाएको छ । प्राधिकरणको लालबन्दी वितरण केन्द्रका निमित्ति प्रमुख जागेश्वर रामले सोमबार साँझ उज्यालो अभियानसँगको कुराकानीमा पानी पर्ने र हावाहुरी चल्ने अहिलेको याममा बिजुली प्रवाह गर्दा कतै न कतै समस्या आउने गरेको दावी गरे । “हाम्रा संरचना र विद्युत् वितरण प्रणाली निकै पुरानो छन्, पानी पर्नासाथ कतै न कतै समस्या आइहाल्छ” उनले भने, “जङ्गल क्षेत्र भएर बत्ती लगिएको ठाउँमा त झन अझ बढी समस्या हुन्छ ।”

रुखका हाँगाबिँगा तारमा पर्ने बित्तिकै बत्ती काट्नुपर्ने बाध्यता रहेको प्राविधिकहरु बताउँछन् । प्राविधिक समस्या आउँदाबाहेक विद्युत् नियमित नै रहेको निमित्त वितरण केन्द्र प्रमुख रामले दावी गरेका छन् ।

प्राधिकरणको मलङ्गवा वितरण केन्द्र र बरहथवा वितरण केन्द्रमा विद्युत् कटौतिबाट सूचना लिने सयन्त्र अत्यन्त कमजोर र कर्मचारीको गैरजिम्मेवारपूर्ण गतिविधि रहेको स्थानीयले आरोप लगाएका छन् ।