सुनिल ठाकुर/मलंगवा-अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायप्रति लक्षित गरी दिएको अभिव्यक्ति विरुद्ध सोमबार सर्लाही सदरमुकाम मलंगवामा पनि विरोध प्रदर्शन भएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समिति सर्लाही र नेपाल मगर संघ जिल्ला समिति सर्लाहीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर जातिमा हुने गरेको विवाहको सँस्कृतिप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिविरुद्ध तामाङ र मगर समुदाय देशैभर आन्दोलित बनेका छन् ।
सिंगो तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको पुस्तौँदेखिको अभ्यास र चालचलनमाथि गलत ढंगले व्याख्या गर्नुका साथै भ्रामक र तथ्यहिन अभिव्यक्ति दिएको भन्दै पाण्डेलाई तुरुन्त पक्राउ गरी कारबाही गर्नुपर्ने माग राख्दै उनीहरु आन्दोलित बनेका हुन् । देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत सर्लाहीका तामाङ र मगर समुदायले सदरमुकाम मलंगवाको शहीद चौक परिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत ३ सुत्रिय माग राख्दै गृहमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्रमा अधिवक्ता पाण्डेलाई कानुन बमोजिम हदैसम्म सजायको माग गरिएको छ । ज्ञापन पत्र बुझाएपछि आन्दोलित समुदायले कोण सभा समेत गरे ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष बुद्ध लामाले अधिवक्ता पाण्डेलाई पक्राउ गरी कारबाही नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।