logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

किसान पर्याप्त आकाशे वर्षा कुर्दै, केहीछिन छिट्याएर पानी टरिरहँदा निराश


  • उज्यालो अभियान

लालबन्दी – पर्याप्त आकाशे वर्षाको प्रतिक्षामा बसेका सर्लाहीका किसान पानी पर्न नसक्दा निराश बनेका छन् ।

यहाँ ठूलो पानी पर्न नसक्दा आकाशे वर्षाको भरमा खेती हुने उत्तरी भेग र पूर्वी भेगका किसान मारमा परिरहेका छन् । साउन २१ भइसक्दा समेत केही किसानले रोपाइँ गर्न पाएका छैनन् । धानको बीउ पसाउन थालिसकेको छ ।

पानी नहुँदा रोपाइँ गरेको खेतमा पनि चिरा परेको किसानले गुनासो गरेका छन् । विशेष गरी उत्तरी भेगका हरिवन, लालबन्दी र ईश्वरपुर तथा पूर्वी भेगका हरिपूर्वा, चन्द्रनगर, पर्सा र ब्रम्हपुरी गाउँपालिकामा आकाशे वर्षाको भर छ ।

अब एक पटक जम्ने गरी ठूलो पानी परे यहाँ रोपाइँ गर्न बाँकी रहेका किसानले रोपाइँ सक्ने र रोपेर हरियो फिर्न लागेको धान बालीलाई पनि फाइदा पुग्ने किसानले बताएका छन् । यो वर्ष वर्षायाममा समेत ठूलो पानी पर्न नसकेको गुनासो किसानले गर्ने गरेका छन् ।

मौसम धाम्मधुम्म भई भारी वर्षा होला जस्तो भएपनि पानी पर्न नसकी टर्ने गरेको छ । पानी पर्दा पनि खण्डवृष्टि अर्थात् नजिकै धेरथोर पानी पर्ने र अर्को ठाउँमा पानी छिटयाउँदै नछिट्याउने भइरहेको छ । बेलाबेलामा पानी परिरहने चुरेभेग र त्यसआसपासका गाउँ नै यो वर्ष सुक्खा छन् ।

सर्लाहीको मौसम अहिले बिहान घाम लागेर हपक्क गर्मी छ ।