logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जिप चालकसँग घुस लिने दुई प्रहरी निलम्बित


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

बागमती – राजमार्गमा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् ।

ड्युटीमा रहेका प्रहरी र ट्राफिक जवानले चालकसँग अवैध रकम लिएको भिडियो समाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सर्लाही र रौतहटका दुई प्रहरीलाई गएसाँझ निलम्बन गरिएको हो । निलम्बनमा पर्नेमा सर्लाहीको बागमती ट्राफिक पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवार र रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव रहेका छन् ।

दुवै जवानले अनैतिक ढंगले संगठनको मर्यादा विपरीत चालकसित रकम लिएको बारे अनुसन्धान गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरले नै निर्देशन दिएका थिए । जिप चालक रौतहटका सिकन्दर पटेलसित जवान यादवले हर्षाह र ट्राफिक कलवारले कर्मैयामा रोकेर एक÷एक सय लुकाएर लिएको भिडियोमा प्रष्ट देखिएको छ ।

चालक पटेलले दुवै प्रहरीले आफूलाई मालसमान बोकेर जाँदा धेरै दुःख दिएको बताए ।