logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीका ८ पालिकामा एकैसाथ नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइयो


  • उज्यालो अभियान

बरहथवा नगरपालिकाको कार्यालय ।

लालबन्दी – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्लाहीका ८ पालिकामा एकैसाथ नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।

मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा निकाल्दा सर्लाहीका २ नगरपालिकामा उपसचिव र ६ वटा गाउँपालिकामा शाखा अधिकृतलाई ‘हाकिम’ बनाएर खटाएको हो । सदरमुकाम मलंगवा नगरपालिकामा गृह मन्त्रालयबाट उपसचिव खेमराज उपाध्यायलाई पठाइएको छ । मलंगवामा यसअघि शिक्षा तर्फका उपसचिव गेहनाथ गौतम प्रमुख प्रशासकीय अधिकृत थिए ।

यस्तै, बरहथवा नगरपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट उपसचिव अनन्तकुमार बस्नेतलाई पठाइएको छ । बरहथवामा पनि यसअघि शिक्षाकै मदनबहादुर थापा प्रमुख प्रशासकीय अधिकृत थिए ।

यसैगरी, निमित्तको भरमा चलिरहेका जिल्लाको ६ वटा गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ । धनकौल गाउँपालिकामा गणेश गौतम, रामनगर गाउँपालिकामा नवीन अधिकारी, विष्णु गाउँपालिकामा रामराज गौतम, पर्सा गाउँपालिकामा भोजराज खतिवडा, कौडेना गाउँपालिकामा निरन्जन ज्ञवाली र बसबरिया गाउँपालिकामा किरणचन्द्र सुवेदीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको हो । उनीहरु ६ जना नै गृह मन्त्रालयमा कार्यरत थिए ।

यि पालिकामा कृषि, स्वास्थ्य, शिक्षा, प्राविधिक लगायतका क्षेत्रका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आइरहेका थिए । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मधेश प्रदेशका स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शुन्यमा झार्ने अभियान अन्तर्गत सर्लाहीका ८ पालिकामा एकैसाथ दरबन्दी अनुसार उपसचिव र अधिकृत स्तरको कर्मचारी पठाएका हुन् ।

स्थानीय तहहरुमा प्रायः आफू नजिकका तथा आफू अनुकुलका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय बनाएर राख्ने प्रचलन छ ।

सामान्य प्रशासन मन्त्रालयले तीन दिनअघि मात्रै गोडैता नगरपालिकामा उपसचिव र ब्रम्हपुरी गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको थियो । गोडैतामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपसचिव सोमराज बराल र ब्रम्हपुरी गाउँपालिकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट अधिकृत टोपलाल अर्याललाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाइएको हो ।