logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जिल्ला प्रशासन कार्यालयको सेवा अझ प्रभावकारी बनाउँदै लगिने


  • उज्यालो अभियान

मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा नागरिकमैत्री बनाउँदै लैजाने निर्णय गरिएको छ ।

शुक्रबार दिउँसो कार्यालयमा बसेको सर्वदलिय बैठकले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो । कार्यालयबाट नागरिकता प्राप्त गर्ने शिलशिलामा सेवाग्राहीले सास्ती खेप्नु परेको गुनासोपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वदलिय बैठक आह्वान गरेका थिए ।

बैठकले कार्यालयका कर्मचारीको सुरक्षा, नागरिक तथा सेवाग्राहीको गुनासो सम्वन्धमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीमार्फत सम्वोधन हुने प्रवन्ध मिलाउने, वडाबाट हुने सिफारिस लगायत क्रियाकलापमा सही सत्य र त्रुटिरहित बनाउन सबैले सहयोग गर्ने, रितपूर्वक कागजात नपुगेको अवस्थामा मात्र सर्जिमिन गर्ने, विद्यार्थीलाई प्राथमिकतामा राखी सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय भएको छ ।

अनुचित लेनदेन (मिटरब्याज) निवेदन छानविन तथा फछ्र्यौट गर्न निवेदक र विपक्षीबीच सौहार्दपूर्ण वातावरण बनाउन सबै पक्षले सहयोग पु¥याउने बैठककमा निर्णय गरिएको छ । दरबन्दी अनुसारको पदपूर्ति गर्न गृह मन्त्रालयमा अनुरोध गरिने भएको छ ।

सर्लाहीमा अनुचित लेनदेन (मिटरब्याज) मा एक हजार ९२० उजुरी परेकोमध्ये अहिलेसम्म ४७९ निवेदनको फछ्र्यौट भइसकेको जिल्ला प्रशासन कार्यालयले छ । त्यस्तै, जन्मसिद्ध नागरिकता भएकाका पाँच हजार ५२५ सन्तानलाई वङ्शजको नागरिकता प्रदान गरिएको बैठकमा जानकारी गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा बसेको सर्वदलिय बैठकमा सुरक्षा निकायका प्रमुख, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका जिल्लास्थित प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवालगायतको उपस्थिति रहेको थियो ।

सर्वदलिय बैठक बसेर यि निर्णय भएपछि राजनीतिक दलहरुले जिल्ला प्रशासन कार्यालय अगाडि गर्ने भनिएको प्रदर्शनको कार्यक्रम स्थगित गरेका छन् ।