मलंगवा – सर्लाहीमा जन्मसिद्ध नागरिकता भएकाका ५ हजार ५ सय २५ जना सन्तानलाई वंशजको नागरिकता प्रदान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवाले बिहीबार साँझ उपलब्ध गराएको विवरण अनुसार हालसम्म जिल्लामा सो संख्यामा जन्मसिद्ध नागरिकता भएकाका सन्तानले वंशजको नागरिकता प्राप्त गरेका हुन् । जिल्ला प्रशासन कार्यालय मलंगवाबाट २ हजार ९ सय ५७, इलाका प्रशासन कार्यालय बरहथवाबाट १ हजार ३ सय ५५ र इलाका प्रशासन कार्यालय हरिवनबाट १ हजार २ सय १३ जनाले वंशजको नागरिकता प्राप्त गरेका जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी गराएका छन् ।
नागरिकता विधेयक संशोधन भई पारित भएपछि जिल्लामा असार १० गतेदेखि जन्मसिद्ध नागरिकता भएकाका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्न सुरु गरिएको हो । मलंगवा, हरिवन र बरहथवा तीनै स्थानबाट नागरिकता विधेयकमा उल्लेख आवश्यक कागजात जुटाएर नागरिकता वितरणको काम जारी राखिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
नागरिकताका लागि हरिवन र बरहथवाको तुलनामा मलंगवास्थित जिल्ला प्रशासनमा अझ बढी भिड लाग्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी यादवले पहिलेको तुलनामा भिड घट्दै गएको बताएका छन् ।