logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आँखा पाक्ने रोग नियन्त्रणका लागि हरिवन र हरिपुरमा घुम्ती शिविर


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन र हरिपुर नगरपालिकाले आँखा पाक्ने संक्रमणको उपचार तथा नियन्त्रणका लागि घुम्ती शिविर चलाइरहेका छन् ।

बस्ती, विद्यालय र स्वास्थ्य चौकीमा पालैपालो घुम्ती शिविर राखेर बिरामीको उपचार भइरहेको हो । सर्लाही जिल्लाभर नै अहिले आँखा पाक्ने रोग व्यापक भएर फैलिएको छ ।

हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले हरिवन स्वास्थ्य चौकीमा करिव १०० जना, घुर्कौली स्वास्थ्य चौकीमा करिव २०० जना र आज सासापुर स्वास्थ्य चौकीमा १७२ जना आँखा पाक्ने रोगका बिरामीको उपचार तथा औषधि वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार भाइरल संक्रमणका रुपमा आँखा पाक्ने रोग फैलिरहेको छ । वीरगन्ज सामुदायिक अस्पतालसँग समन्वय गरी नगरका विभिन्न विद्यालयमा घुम्ती शिविर राख्दा २ हजार जना विद्यार्थीको आँखा जाँच गर्दा झण्डै १५ सय जनामा आँखा पाक्ने संक्रमण देखिएको चौधरीले बताए ।

स्वास्थ्य चौकीमा राखिएको शिविरमा बाल पोसन योजना प्राथमिक आँखा उपचार केन्द्र सुकेपोखरीले पनि सहयोग गरेको छ । भोली अत्रौली स्वास्थ्य चौकीमा आँखा उपचारको घुम्ती शिविर राखिने हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै, हरिपुर नगरपालिकाले स्वास्थ्य चौकीमार्फत घुम्ती शिविर आयोजना गरी बिरामीको उपचार गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले जानकारी दिए । भुजलले सामुदायिक विद्यालय असार मसान्तसम्म बन्द रहेको र खुलेका केही निजी विद्यालय तथा बस्तीमा पुगेर आँखा पाक्ने संक्रमण भएका बिरामीको चिकित्सकले उपचार गरिरहेका बताए ।

सर्लाहीमा अन्य पालिकामा पनि जताततै आँखा पाक्ने समस्या भएका बिरामी बढिरहेका छन् । तर, पालिकाले उनीहरुको उपचारका लागि कुनै वास्ता गरेका छैनन् ।