गोडैता – मोहरम पर्व मनाउनेक्रममा गत शनिबार दुई समूहबीच झडप भई अशान्त बनेको सर्लाहीको गोडैता बजारमा ५ दिनदेखि प्रहरीले निरन्तर सुरक्षा पहरा दिइरहेको छ ।
पुनः असहज स्थिति उत्पन्न हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी चौबिसै घण्टा तैनाथ गरिएको हो । आज बुधबार पाँचौं दिनसम्म पनि गोडैता बजारमा सुरक्षा दिन बाक्लो संख्यामा प्रहरी तैनाथ भइरहेका स्थानीय संचारकर्मी निरज यादवले उज्यालो अभियानसँग बताए ।
व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन हुँदाहुँदै शनिबार साँझ दुई पक्षबीच झडप हुँदा छ प्रहरी र चार स्थानीय घाइते भएका थिए । झडप रोक्ने क्रममा प्रहरीले चार दर्जनजति अश्रुग्यास र १६ राउण्ड हवाइ फायर गरेको थियो ।
सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जिल्लाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा खटाइएको ३० जना र स्थानीय प्रहरी चौकीका प्रहरीले रातदिन बजार क्षेत्रमा गस्ती गरिरहेका बताए । उनले बजार क्षेत्रको अवस्था सामान्य नहुन्जेल थप मद्धत टोली त्यहीँ तैनाथ भइरहने जानकारी दिए ।
गोडैता बजारमा सशस्त्र प्रहरीले पनि प्रहरी निरीक्षक (इन्स्पेक्टर) कै नेतृत्वमा प्रहरी तैनाथ गरेको छ । सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर भण्डारीले अगर्वास्थित गणबाट थप मद्धत टोली परिचालन गरिएको बताएका छन् ।
शनिबारको घटनापछि गोडैता बजार पूर्णरुपमा खुल्न सकेको छैन् । बजारका आंशिक पसल मात्रै खुल्ने गरेका छन् ।
आइतबार सदरमुकाम मलङ्गवामा बसेको सर्वदलिय÷सर्वपक्षिय बैठकले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न अपिल गरेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समेत सार्वजनिक अपिल जारी गरी सबैबीच साद्भाव कायम गर्न अनुरोध गरेका थिए ।
त्यस्तै, गोडैताका जनप्रतिनिधि, जिल्लाका नागरिक समाज, राजनीतिज्ञलगायतले सामाजिक सञ्जाल र अन्य माध्यमबाट सबैबीच भाइचारा कायम गरी मिलेर बस्नुपर्ने सन्देश प्रवाह गरिरहेका छन् ।