मलंगवा – सर्लाहीलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गरिएको छ ।
सोमबार सदरमुकाम मलङ्गवामा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको अध्यक्षतामा बसेको सर्वदलिय/सर्वपक्षिय बैठकले जिल्लालाई सुक्खा क्षेत्र घोषण गर्न माग गरेको हो । साउन १५ गतेसम्मको पानी पर्ने सिजन पनि अन्त्य हुँदै गएकाले अब उप्रान्त यस वर्षको आवश्यकता अनुसारको धान रोपाइँ हुन नसक्ने र पानी तथा सिँचाईको प्रवन्ध हुन नसक्ने देखिएकाले जिल्लालाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई प्रत्यक्ष लाभ हुने गरी आगामी बालीको लागि मलखाद र बीउका साथै राहतका लागि संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका अनुसार बागमती सिँचाई आयोजनाको सिँचित क्षेत्रमध्ये प्रायः जसो र मनुष्मारा सिँचाई आयोजनाको सिँचित क्षेत्रमध्येको प्रायः जसो बाहेक भूमिगत सिँचाईबाट किसानले खेती गर्ने कूल क्षेत्रफलको ५० प्रतिसत भन्दा कम क्षेत्रफलमा रोपाइँ भएको भएको छ । यस्तै, बैठकले अन्नपूर्ण चिनी मिल धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहले किसानसँग गत वर्ष खरिद गरेको उखुको रकम हालसम्म पनि भुक्तानि नगरेकाले उक्त भुक्तानि गराइदिन र नेपाल सरकारले कृषकलाई दिने अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँको भुक्तानि समेत बाँकी रहेकामा किसानलाई दैनिक व्यवहार धान्न, मलखादको प्रयोग गर्न कठिानाइ भइरहेकाले अविलम्व भुक्तानि गर्न संघ सरकारसँग माग गरिएको छ ।
त्यस्तै, जिल्लामा पशुहरुमा व्यापक रुपमा लम्पी स्किन रोग देखा परी पशचौपाय रोगबाट ग्रसित भइ मर्ने क्रम जारी रहेको र पशुधनबाट किसान तथा उपभोक्ता प्रत्यक्ष रुपमा प्रभावित भइरहेको अवस्था देखिएकाले यथाशीघ्र तीन लाख लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराइ दिन संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख सिंहले जानकारी दिए ।
सिंहका अनुसार दलका प्रतिनिधि, कृषि तथा पशु कार्यालयका प्राविधिक, नागरिक समाजलगायतको संयुक्त बैठक गरेर यि माग गरिएको हो ।