logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सामाजिक सद्भाव कायम राख्ने सहमती, प्रशासनद्वारा सार्वजनिक अपिल जारी


  • उज्यालो अभियान

गोडैता – सर्लाहीको गोडैतामा सामाजिक सद्भाव कायम राख्न दुवै पक्षले संयमता अपनाउने सहमती गरिएको छ ।

गोडैता नगरपालिका–७ र ८ को सीमामा पर्ने गोडैता बजारमा इस्लाम धर्मावलम्वीको मोहरम पर्व मनाउने क्रममा शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो । झडप रोक्न प्रहरीले अश्रुग्याँस र हवाई फायर नै गर्नुपर्यो । झडपमा केही स्थानीय र प्रहरी घाइते समेत भए ।

सो घटनापछि थप विवाद सिर्जना हुन नदिन आइतबार दिउँसो जिल्ला समन्वय समिति मलङ्गवामा सर्वदलिय÷सर्वपक्षिय बैठक राखेर छलफल गरिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले शनिबार भएको उक्त अप्रिय घटनाप्रति दुःख व्यक्त गरी दुवै समुदायले मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण, धार्मिक सद्भाव तथा सामाजिक सद्भाव कायम राख्न संयमता अपनाउने र त्यसका लागि सबैले आ–आफ्नो दायित्व पुरा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, गोडैताका मेयर देवेन्द्र यादव, चारवटै सुरक्षा निकायका प्रमुख, दुवै समुदायका अगुवा, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो । बैठक बस्नुअघि आइतबार बिहान प्रमुख जिल्ला अधिकारी यादवसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखसहितको टोलीले गोडैता बजार क्षेत्रको निरीक्षण गरेको थियो ।

बजार क्षेत्रमा अहिले पनि बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ रहेका स्थानीय सञ्चारकर्मी निरज यादवले जानकारी दिए । उनका अनुसार बजार क्षेत्रको अवस्था सामान्य छ । तर आइतबार बजार भने खुलेन ।

शनिबार साँझको झडपपछि रातभर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए ।

यसैबीच, आइतबार दिउँसो भएको सर्वदलिय÷सर्वपक्षिय बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सार्वजनिक अपिल जारी गर्दै सामाजिक सद्भाव कायम गराउन सबैसँग आग्रह गरेका छन् । उनले जारी गरेको अपिलमा भनिएको छ,‘जिल्ला सुरक्षा समिति हरेक किसिमको अतिवादको अन्त्य गर्ने, सामाजिक सद्भाव कायम गर्ने, सदियौँ देखिएको सामाजिक सद्भावमा कुनै स्वार्थ प्रेरित घुसपैठ हुन नदिन हामी सम्पूर्ण रुपमा सचेत र क्रियाशील छौँ । त्यसका विरुद्ध हरेक गतिविधिहरु आपराधिक रुपमा पहिचान गरी कारवाही अगाडि बढाइने व्यहोरा समेत सार्वजनिक अपिल मार्फत सबैमा जानकारीको लागि अनुरोध गर्दछौँ ।’

मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न आ–आफ्नो दायित्व पूरा गर्न समेत प्रमुख जिल्ला अधिकारी यादवले अपिल गरेका छन् ।