logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मोहरमलाई सौहार्दपूर्ण बनाउन हिन्दु–मुस्लिम अगुवाको संयुक्त बैठक


  • उज्यालो अभियान

मलंगवा – मुस्लिम समुदायले भोली (शनिबार) मनाउन लागेको मोहरम पर्वलाई सौहार्दपूर्ण रुपमा सम्पन्न गर्ने उद्देश्यसहित आज सर्लाहीको गोडैतामा हिन्दु र मुस्लिम दुवै समुदायका अगुवा तथा सुरक्षा अधिकारीबीच संयुक्त बैठक बसेको छ ।

दुवै समुदायका जिल्लास्थित अगुवासहित आफूहरु बसेर मोहरमलाई शान्तिपूर्ण बनाउने निर्णय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । सीडीओ यादवले गोडैतामा केही समयदेखि दुई समुदायबीच विभिन्न विषयमा विवाद समेत भइरहेकाले त्यही ठाउँमा बैठक राखेर सकात्मक सन्देश दिने उद्देश्यसहित कसैलाई वाधा अवरोध नहुने र सामाजिक सद्भाव कायम हुने किसिमले पर्व मनाउने निर्णय भएको उज्यालो अभियानसँग बताए ।

मुस्लिम समुदायले मोहरम अर्थात् दाहा पर्व हातहतियार प्रदर्शन गरी मनाउने गर्छन् । जिल्ला सुरक्षा समिति सर्लाहीले बिहीबार नै एक सूचना जारी गरी मोहरम पर्व सामाजिक सद्भाव कायम हुने गरी मनाउन अपिल गरेको छ ।

पर्व मनाउने क्रममा कार्यक्रमहरु गर्दा मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण र सामाजिक सद्भाव कायम गरी पर्व मनाउन हुन सबैमा अनुरोध गरिएको छ । यस पर्वलाई लक्षित गर्दै जिल्लाभर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

जिल्लाभरका प्रहरी युनिटले गस्ती बढाएका छन् । जिल्लामा मुस्लिम समुदायको बसोवास रहेको मलङ्गवा, लक्ष्मीपुर, बयलवास, सुन्दरपुर, भाडसर, खुटौना, चक्रघट्टालगायतका स्थानमा धुमधामसँग मोहरम पर्व मनाउने तयारी भइरहेको स्थानीयले बताएका छन् ।