हरिवन – किसानका विभिन्न मुद्दा उठाएर आज (शुक्रबार) मध्यान्ह सर्लाहीको हरिवनमा पूर्व–पश्चिम राजमार्ग (हाईवे) मा चक्काजाम गर्ने तयारी गरिएको छ ।
नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ मधेश प्रदेश कमिटीले हरिवनमा राजमार्ग अवरुद्ध गर्ने तयारी गरेको हो । मध्यान्ह १२ बजेदेखि २ घण्टा राजमार्ग ठप्प पार्ने तयारी रहेको महासंघका केन्द्रिय उपाध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।
लम्पी स्किन रोगलाई महामारी घोषणा गरी मरेका पशुहरुको क्षतिपूर्तिको व्यवस्था गर, मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई प्याकेजमा राहतको घोषणा गर, उखुको अनुदान रकम (प्रति क्विन्टल ७) रुपैयाँ तुरुन्त भुक्तानि गर र रासायनिक मलको आपूर्ति सहज गर भन्ने मागसहित चक्काजाम गर्न लागिएको अखिल नेपाल किसान महासंघ मधेश प्रदेश कमिटीले जनाएको छ ।