logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सामाजिक सद्भाव कायम हुने गरी मोहरम पर्व मनाउन अपिल


  • उज्यालो अभियान

मलंगवा – जिल्ला सुरक्षा समिति सर्लाहीले मुस्लिम धर्मावलम्वीलाई मोहरम पर्व सामाजिक सद्भाव कायम हुने गरी मनाउन अपिल गरेको छ ।

समितिले बिहीबार सार्वजनिक अपिल जारी गर्दै यही साउन १३ गते शनिबार परेको ताजिमा र दाहा पर्व समेत भनिने मोहरम पर्व मनाउँदा सामाजिक सद्भाव कायम गर्न अनुरोध गरेको हो । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हस्ताक्षर गरी जारी गरेको सूचनामा ‘पर्व मनाउने क्रममा कार्यक्रमहरु गर्दा मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण र सामाजिक सद्भाव कायम गरी पर्व मनाउन हुन सबैमा अनुरोध छ,’ भनी उल्लेख गरिएको छ ।

सूचनामा सार्वजनिक स्थानहरुमा हो–हल्ला गर्ने, चर्को आवाजमा डिजे बाजा बजाउनेजस्ता अवाञ्छित क्रियाकलापहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न/नगराउन आह्वान गर्दै सौहार्दपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी यादवले अवाञ्छित क्रियाकलापहरु गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने उल्लेख गरेका छन् ।

सर्लाहीमा मुस्लिम समुदायको बसोवास रहेको मलङ्गवा, लक्ष्मीपुर, बयलवास, सुन्दरपुर, भाडसर, खुटौना, चक्रघट्टालगायतका स्थानमा धुमधामसँग मोहरम पर्व मनाउने तयारी भइरहेको स्थानीयले बताएका छन् ।