logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जिंगडवामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

जिंगडवा – सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिका–४, जिंगडवामा मोटरसाइकलको ठक्करबाट एक बालिकको मृत्यु भएको छ ।

नम्वर खुल्न नसकेको मोटरसाइकलले गाउँको भित्री सडकमा ठक्कर दिँदा सोही ठाउँ निवासी हरिवीरेन्द्र पासवानकी छोरी ८ वर्षीया मनिषा कुमारी पासवानको मृत्यु भएको हो । बाख्रा चराउन हिँडेकी मनिषालाई मोटरसाइकलले ठक्कर दिइ गम्भीर घाइते बनाएपछि उपचारका लागि स्थानीय एक क्लिनिकमा पुर्याइयो ।

त्यहाँ पुर्याउँदा उनलाई स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । मोटरसाइकलको ठक्करबाट अर्की ८ वर्षिया बालिका चुनचुन पासवान सामान्य घाइते भएकी छन् । प्रहरीका अनुसार यो दुर्घटना हिजो (बुधबार) बिहान ९ बजेतिरकै हो । दुर्घटनापछि फरार रहेका मोटरसाइकल र त्यसका चालक आज (बिहीबार) बिहानसम्म पनि फेला परेका छैनन् ।

सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले मोटरसाइकलको खोजी जारी रहेको जानकारी दिए । उनले घटनास्थल ग्रामीण इलाका रहेको र छेउछाउमा कहीँकतै सीसी क्यामेरा जडान नभएकाले दुर्घटना गराएर भागेको मोटरसाइकल पहिचान गर्न समस्या परिरहेको बताए ।