मलंगवा – सर्लाहीमा परेका मिटरब्याजीविरुद्धको उजुरी र त्यसमा भइरहेको छलफल तथा सहमतीका विषयमा बुधबार सदरमुकाम मलंगवामा छलफल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला स्तरीय मिटरब्याज पीडित समन्वय/सहजीकरण समितिका संयोजक इन्द्रदेव यादवको अध्यक्षता तथा अनुचित लेनदेन (मिटरब्याज) सम्वन्धी जाँचबुझ आयोग, २०७९ का अध्यक्ष गौरीबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बैठक बसी अनुचित लेनदेन मिटरब्याज पीडित सम्वन्धी प्राप्त निवेदन छानविन तथा फछ्र्यौट प्रगति प्रतिवेदन एवं छानविन छलफलका क्रममा झेल्नुपरेका समस्या लगायतका विषयमा छलफल गरिएको हो ।
बैठकमा राष्ट्रिय अनुसन्धान कार्यालय सर्लाहीका अनुसन्धान अधिकृत एवं मिटरब्याज पीडितहरुको निवेदन छानविन तथा फछ्र्यौट कार्यमा समेत सहयोग गरेका वसन्त साहको सडक दुर्घटनामा असामयिक निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

यसैगरी, बैठकले विगतमा भएका निर्णयहरुको समिक्षा, वास्तविक पीडितको पहिचान गर्ने एवं अतिआवश्यकता अनुरुप भएका लेनदेन व्यवहारका निवेदनहरुलाई प्राथमिकतामा राखी छानविन तथा फछ्र्यौट गर्ने, व्यापारिक प्रयोजन, जग्गा राजिनामा पास भएको लामो समय भएको, गाउँघरमा पहिला नै सहमति भई कार्वान्वयन हुन नसकेका, जटिल प्रकृतिका निवेदनहरु, कार्यालयले खोजेका बखत उपस्थित हुन नआउने पीडितका निवेदनहरु, पीडक र पीडित अन्यत्र जिल्लामा रही सम्पर्कमा आउन नचाहेका निवेदनहरु अन्तिम चरणमा छानविन तथा फछ्र्यौट गर्नेलगायतका निर्णय भएको छ ।
सर्लाहीमा परेका १ हजार ९२० उजुरीमध्ये ४४९ उजुरीमा मिलापत्र भइसकेको जिल्ला प्रशासन कार्यालयले जनायो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अन्य जिल्लाको तुलनामा सर्लाहीमा मिलापत्रको प्रगति राम्रो रहेको बताए ।
बुधबारको छलफलमा अनुचित लेनदेन (मिटरब्याज) सम्वन्धी जाँचबुझ आयोगका सदस्य उत्तमराज सुवेदी, आयोगकै गणेशबाबु अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, सुरक्षा अधिकारी, जिल्ला स्तरीय मिटरब्याज पीडित समन्वय/सहजीकरण समितिका सदस्य, मिटरब्याज पीडित संघर्ष समिति मधेश प्रदेशकी संयोजक सरस्वती मिश्र, संघर्ष समितिको सर्लाही अध्यक्ष रुक्मीणी चौधरीलगायत सहभागी थिए ।